जनजातिको संस्कृति संरक्षण आवश्यक

दमौली, २१ चैत। संस्कृति संरक्षण नभए विभिन्न जनजातिको पहिचानसमेत लोप हुने भएकाले संस्कृतिको संरक्षणमा जोड दिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा आजदेखि दमौलीमा शुरु भएको आदिवासी जनजातिको अमूर्त सांस्कृतिक सम्पदाको पहिचान एवं समुदायमा आधारित विवरण सूचीकरण तथा संरक्षण योजनासम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमका सहभागीले अमूर्त संस्कृति संरक्षण गरी आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख पवित्रादेवी पौडेलले संस्कृति लोप भए जनजातिको अस्तित्वसमेत लोप हुने भएकाले ओझेलमा परेका जातजातिको संस्कृति उजागर गर्दै लिपिबद्ध गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न जातजातिका भाषा लोप हुँदै जान थालेको छ । नयाँ पुस्तालेसमेत भाषा बिर्सन थालिसके । यसको संरक्षणका लागि स्थानीय समुदायसमेत अग्रसर हुनुपर्छ ।” संस्कृतिविद् डा प्रेमकुमार खत्रीले संस्कृति अमूल्य सम्पत्ति भएकाले त्यसलाई बचाउन सबै समुदाय सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार नेपालमा १२५ जाति, १२३ भाषा र ५९ संस्कृति रहेको छ । उहाँले विभिन्न जातजातिले आफ्नो भाषा बिर्सदै गएकाले भावी पुस्तालेसमेत भाषा सिक्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुन थालेको बताउनुभयो । संस्कृति मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुख भरतमणि सुवेदीले संस्कृतिको सिर्जना गर्नेले पहिचान जोगाउनुपर्नेमा जोड दिँदै संस्कृतिलाई आयआर्जनसँग जोड्नुपर्ने बताउनुभयो ।

आदिवासी जनजातिको अमूर्त सांस्कृतिक सम्पदाको पहिचान र संरक्षणका लागि समुदायको भूमिकाको विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको सुवेदीले जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाका भुजेल, दुरा, दरै, कुमाल, मगर, चेपाङ, कुसुण्डालगायत जातिका अगुवा सहभागी हुनुहुन्छ । चैत २३ गतेसम्म चल्ने प्रशिक्षणमा संस्कृतिविद् डा खत्री, डा भक्त राईलगायतले सहजीकरण गर्नुहुनेछ । कार्यक्रमका अवसरमा फरकफरक जातका संस्कृति सूचीकरण गर्ने कार्यक्रमसमेत रहेको आयोजकले जनाएको छ । रासस