स्वतन्त्रताभित्रको दायित्व र जिम्मेवारी भुल्नु हुँदैन: अध्यक्ष आचार्य

चितवन, २१ चैत । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता क्षेत्रमा स्वतन्त्रताभित्र केही दायित्व र जिम्मेवारी पनि हुने बताउनुभएको छ ।

केन्द्रीय बालकल्याण समितिले आज यहाँ आयोजना गरेको बालमैत्री सञ्चार निर्देशिका २०७३ को व्याख्यात्मक टिप्पणी सम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले पत्रकारले जिम्मेवार र मर्यादित बनेर प्रस्तुत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वतन्त्रताभित्र केही दायित्व र जिम्मेवारी हुन्छन् भन्ने कुरालाई हामीले भुल्नु हुँदैन ।” पत्रकारले स्वतन्त्रतापूर्वक लेख्नुपर्ने र जिम्मेवारीपूर्वक दायित्व निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बालबालिकाका क्षेत्रमा जिम्मेवारीपूर्वक कलम चलाउन उहाँले सुझाव दिनुभयो । सो अवसरमा गैर आवासीय नेपाली महासङ्घ (एनआरएन)का प्रवक्ता भुषण घिमिरेले नेपालमा पाँच लाख बालबालिका विद्यालय जानबाट वञ्चित रहेको बताउनुभयो । उहाँले यसबारे कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय बालकल्याण समितिका परियोजना संयोजक आत्मराम थापा, स्रोत व्यक्ति बद्री वाग्ले, नेपाल पत्रकार महासङ्घ प्रदेश नं ३ का महासचिव कृष्ण सारुमगर लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । अन्तक्र्रियामा प्रदेश नं ३ का उपत्यका बाहिर चितवनसहित १० जिल्लाका पत्रकारको सहभागिता छ । कार्यक्रममा बालमैत्री सञ्चार निर्देशिका २०७३ को व्याख्यात्मक टिप्पणी सम्बन्धी छलफल एवं अन्तक्र्रिया गरिएको थियो । रासस