बारामा सहयोगको नाममा धर्म प्रचार गर्न बाइबल बाँडेको आरोपबारे भावुक हुँदै अन्जु पन्तले भनिन् :‘मलाई सहने बानी परिसकेको छ, म अविचलित समाजसेवामा लागिरहने छु’

काठमाडाै‌, २१ चैत्र । गायिका अञ्जु पन्तले बारा र पर्सामा हावाहुरीबाट प्रभावितलाई सहयोग गर्ने बहानामा धर्म प्रचार गरेको र बाइबल बाँडेको भन्ने आरोप निराधार भएको बताएकी छिन् ।

पन्तले आफ्नो फेसबुक मार्फत आफुले बाराका हावाहुरी पीडितहरुलाई राहतको नाममा बाइबलको किताब बाँडेको भनी सामाजिक संजालमा भाइरल बनाइएको तस्वीर डिसेम्बर ५ ,२०१८ अर्थात एक वर्ष पुरानो भएको बताउँदै ती आरोप निराधार भएको बताएकी हुन् ।

उनले एक वर्ष अघि ‘अन्जु पन्त फाउण्डेसन’मार्फत् बारा जिल्लामा भएको स्कुलका बालबालिकाहरूलाई स्कुल ब्याग तथा कापीकलम बितरण गर्न गएको बेलाको फोटो प्रयोग गरेर अहिले सामाजिक संजालमा बाइबल बाँड्न गएको भनेर मिथ्या आरोप लगाएको बताएकी छिन् ।

उनले लेखेकी छिन् -‘मलाई सहने बानी परिसकेको छ । म अविचलित समाजसेवामा लागिरहने छु । आँधीहुरी प्रभावित क्षेत्रमा त्रिपाल, झुल, म्याट लगायतका करिब २ लाखको सहयोग तत्काल बारामा पठाउँदै छौँ । बारामै बाढीले घरबारविहीन ३५ परिवारका लागि भवन निर्माण गर्ने कामको तयारी पनि हुँदैछ । ‘

विभिन्न चर्चित गीतहरु गाएर सबैको मनमा बस्न सफल गायिका अञ्जु पन्त पछिल्लो समय गायनसँगै सामाजिक सेवामा समेत सक्रिय रहेकी छिन् ।

क्रिष्चियन धर्म अंगालेसँगै अञ्जुलाई धर्म प्रचारको आरोप लाग्ने गरेको छ ।