रणवीरको ‘सिम्बा’ले कमायो चार दिनमै सय करोड

एजेन्सी, १९ पुस । रणवीर सिंहको फिल्म ‘सिम्बा’ले शाहरुख खानको ‘जिरो’लाई पछि पारेको छ ।

रणवीरको फिल्म रिलिज भएको चार दिनमै सय करोडको आँकडा पार गरिसकेको छ । उता, साहरुख खानको फिल्म ‘जिरो’ले भने ११ दिनमा जम्मा ८६ करोड भारु संकलन गरेको छ ।

२८ डिसेम्बरमा रिलिज भएको रणवीरको ‘सिम्बा’ले सुरुवातदेखि नै फिल्मले बक्स अफिसमा राम्रो पकड जमायो । फिल्मको बजेट ८० करोड भारु हो । फिल्मले जम्मा चार दिनमै लगानी बजेट निकाल्यो ।

भारतीय फिल्म समीक्षक रमेश बालाले नयाँ वर्षको पहिलो दिन ट्विट गर्दै यसबारे जानकारी दिएका हुन् ।

बालाले ट्विटरमा लेखेका छन्, ‘सिम्बा फिल्मले सोमबार अर्थात् ३१ डिसेम्बरमा २२ करोड कलेक्सन गरेको छ । फिल्मले सय करोडको कलेक्सन गरिसकेको छ ।’

सिम्बा साउथ इन्डियन फिल्म टेम्परको रिमेक हो । फिल्ममा रणवीर सिंहका साथमा साराअली खान र सोनु सुद मुख्य भूमिकामा छन् ।