साझा थप २० नयाँ बस रक्सौल आइपुग्यो

काठमाण्डाै, २१ चैत्र । साझा यातायातले काठमाण्डाै उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस मगाएको छ ।

केही महिना पहिले बस खरिदका लागि भएको ठेक्का सम्झौताबमोजिम भारतबाट ती बस मगाइएको हो ।

साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले काठमाण्डाै महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको शेयर खरिद गरेबापत प्राप्त रकमबाट नयाँ बस खरिद भएको बताएका छन् ।

पाण्डेयका अनुसार ती नयाँ बस रक्सौलमा आइपुगेको र भन्सार प्रक्रिया पूरा गरेर अब केही समयभित्रै काठमाण्डाै आइपुग्नेछ ।

बस काठमाण्डाै आइपुगेपछि उपत्यकामा माग भएका ठाउँ र आवश्यकता हेरेर सरकारसँग रुट माग गरिने उनले जानकारी दिए ।

काठमाण्डाै महानगरपालिकाले पाँच करोड रुपैयाँ र ललितपुर महानगरपालिकाले एक करोड रुपैयाँ शेयर खरिद गरेका छन् ।