हावाहुरी प्रभावितलाई राहत समग्री वितरण

पर्सा, २१ चैत। वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा रहेका हुरी प्रभावितलाई आज उद्योग, वाणिज्य तथा आपूतिमन्त्री मातृका यादवले राहत समाग्री वितरण गर्नुभएको छ ।

आइतबार साँझ आएको हुरीमा घरबार गुमाएका २०९ परिवारलाई मन्त्री यादवले खाद्यान्न सामग्री वितरण गर्नुभएको हो । उहाँले जगरनाथपुरको हुरी प्रभावित क्षेत्रको निरीक्षणपछि सङ्घीय सरकारका तर्फबाट प्रभावित प्रतिपरिवाललाई ३० किलो चामल लगायतका खाद्यान्न वितरण गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस घडीमा हुरी प्रभावितसँग सङ्घीय सरकार रहेको सन्देश लिएर काठमाडाँैबाट आएको जानकारी गराउनुभएको थियो ।

उहाँले हुरी प्रभावितका लागि खाद्यान्न, औषधोपचारदेखि पुनर्वास समेतको प्रबन्ध मिलाउन सरकारपछि नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सङ्कटमा परेकालाई सबै राजनीतिक दलका नेता कार्यकर्ता, नागरिक समाज, उद्योगपति र व्यपारीलाई उहाँले सक्दो सहयोग गर्न आग्रह गर्नुभयो । जगरनाथपुरका हुरी प्रभावितलाई आजै वीरगञ्ज उद्योग वाणिज्य सङ्घले समेत राहत सामग्री वितरण गरेको छ । जगरनाथपुरका २०९ परिवाललाई चामल, दाल, खाने तेल, नुन, साबुन, त्रिपाल, बाल्टी, मगलगायत सामग्रीको प्याकेट नै वितरण गरिएको पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । रासस