राजकुमार ह्यारी र मेगनको इन्स्टाग्राम अकाउन्टले पाँच घण्टा ४५ मिनेटभित्र १० लाख फलोअर्स कमाउँदै तोड्यो वर्ल्ड रेकर्ड !

एजेन्सी, २१ चैत्र । करिब एक वर्ष अगाडी विवाह बन्धनमा बाधिएका बेलायतका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मर्कलको इन्स्टाग्राम अकाउन्टले गिनिज बुक अफ वर्ल्ड रेकर्ड तोडेको छ ।

यो जोडीको मंगलबार सार्वजनिक गरिएको आधिकारिक अकाउन्टले पाँच घण्टा ४५ मिनेटभित्र १० लाख फलोअर्स प्राप्त गरेको गिनिज बुक अफ वर्ल्ड रेकर्डले जनाएको छ ।

ह्यारी र मेगनको इन्स्टाग्राम अकाउन्टले कोरियाली पप स्टार काङ्ग ड्यानियलको रेकर्ड तोडेको हो ।

ड्यानियलले गत वर्षको जनवरीमा इन्स्टाग्राम खोलेको ११ घण्टा ३६ मिनेटभित्र एक मिलियन फलोअर्स प्राप्त गरेका थिए । साथै २०१६ मा बनाइएको उनको इन्स्टाग्राम अकाउन्टलाई १२ घण्टाभित्र एक मिलियन प्रयोगकर्ताले फलो गरेका थिए ।