पर्यटक आकर्षित गर्दै सङ्ग्रहालय

बागलुङ, २१ चैत। प्राकृतिक सौन्दर्य र घरवास (होमस्टे) को आनन्द बटुल्न भकुण्डे जाने पर्यटकलाई त्यहाँको सङ्ग्रहालयले आकर्षित गर्ने गरेको छ ।

मौलिक संस्कृति, जीवनशैली र परम्पराको झल्को दिने सङ्ग्रहालयमा पर्यटक आकर्षित भएका हुन् । बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेमा गत वर्ष निर्मित सङ्ग्रहालय गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको हो । “यहाँ आउने पाहुनालाई देखाउने ठाउँ भएको छ”, घरवास सञ्चालक अप्सरा थापामगरले भन्नुभयो, “सङ्ग्रहालय हाम्रो चिनारीसँग पनि जोडिएको छ ।” सङ्ग्रहालयमा परम्परागत र ऐतिहासिक महत्वका सामग्री सङ्ग्रहित गरिएको छ ।

भकुण्डे मगर बाहुल्य गाउँ भएकाले मगर पहिचान दिलाउने सामग्री बढी छन् । जातजातिका वेषभूषा र रीतिरिवाज झल्कने गरी सङ्ग्रहालयलाई विकास गर्न लागिएको सङ्ग्रहालय व्यवस्थापन समितिकी अध्यक्ष इन्द्रा थापामगरले बताउनुभयो । सङ्ग्रहालयमा पुरानो पुस्ताले प्रयोग गरेका काठका भाँडाकुँडासहित घरायसी प्रयोगका सामग्री राखिएको छ ।

जनजाति समुदायमा प्रचलित परम्परागत खेलका सामग्री पनि सङ्ग्रहित छन् । भकुण्डेमा विसं २०६८ मा (होमस्टे) शुरु भएपछि पर्यटकीय आकर्षण बढेको हो । गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द लिन चाहने भकुण्डे पुग्छन् । समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित भकुण्डेको मुख्य आकर्षण मनोरम भू–वनोट, हिमशृङ्खला र सूर्योदयको अवलोकन हो ।

पर्यटकलाई आकर्षित गर्न भकुण्डेकै मूलाबारीमा दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ पनि निर्माण गरिएको छ । सदरमुकाम बागलुङ बजारदेखि मोटरमा एक घण्टा र पैदल दुई घण्टामा भकुण्डे पुग्न सकिन्छ । सूचीकृत १०० नयाँ पर्यटकीय गन्तव्यमा भकुण्डे पनि समावेश छ । रासस