सरकारले २०७६ मा १५ ओटा सार्वजनिक विदा थप्दै

काठमाडौं, १९ पुस । विभिन्न जातीय तथा सांस्कृतिक पर्वहरुलाई मान्यता दिँदै सरकारले आगामी वर्षका लागि १५ ओटा विदा थप्न सरकारले प्रस्ताव गरेको छ ।

विदा पुनरावलोकन समितिले वि. सं. २०७६ का लागि विदा थप गर्न प्रस्ताव गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई सम्मिलत समितिले विभिन्न ८ पर्वहरुमा ११ दिन विदा दिनका लागि प्रस्ताव गरेको छ ।

समितिले हाल रहेका सबै विदालाई यथावत् राख्दै विदा थप्न प्रस्ताव गरेको हो ।

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन लगायत मुस्लिम संस्थाहरुको माग बमोजिम इदुल पित्र, बकर ईद र मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिने प्रस्ताव गरिएको छ ।

त्यसैगरी, इदुल पित्र, बकर ईद र मोहम्मद जयन्ती, क्रिसमस, उभौलि र उधौली, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्वो ल्होसार, छठ पर्व र माघी, ऋषि पञ्चमीमा महिलाहरुलाई मात्र, जनैपूर्णिमालगायतका पर्वहरुमा विदा दिन प्रस्ताव गरिएको छ ।