अमेरिका बसेर जाजरकोटको सरकारी जागिर खान्छन् मेडिकल अधिकृत डाक्टर निशराज बस्नेत !

जाजरकोट, २१ चैत्र । जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डाक्टर निशराज बस्नेतले विगत एक बर्षदेखि अमेरिका बसेर यहाँको सरकारी जागिर गरिरहेको पाइएको छ ।

उनी गत बर्ष अमेरिका गएपनि उनले खाइपाई आइरहेको मासिक तलव भने उनको बैंक खातामा जम्मा भइरहेको पाइएको हो ।

स्थानीय प्रशासनले गरेको छड्के अनुगमनमा २०७३ अन्त्यसम्म उनको साढे १९ दिन सञ्चित बिरामी बिदा थियो । २०७४ बैशाखयता दुईपटक आएर हाजिर गरेर उनी पुनः अमेरिका फर्किएका छन् । यस बर्ष बैशाख २५ देखि जेठ ४ गतेसम्म ११ दिन हाजिर गरेर फर्किएका थिए ।

पुनः कार्तिक ६ देखि हाजिर भएका उनी २१ गतेसम्म १६ दिन जिल्ला अस्पतालमा बसेर काम गरेको हाजिरी रेकर्डमा उल्लेख छ । अन्य अवधिमा घरबिदा, सट्टा बिदा, काज एवं बाटो म्याद उल्लेख गरेर हाजिरी किताब भरेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।