४ मिनेट ढिला हुँदा आठ घण्टासम्म विमानभित्रै यात्रुको बेहाल

काठमाडौँ, २१ चैत्र । २ सय ७४ यात्रु बोकेर मंगलबार राति दुबई उड्नुपर्ने नेपाल वायुसेवा निगमको विमान ४ मिनेट ढिला हुँदा यात्रुहरु रातभर बिमानभित्रै बस्न बाध्य छौं ।

व्यवस्थापकीय लापरबाहीका कारण ११ घण्टापछि बुधबार बिहानमात्रै उड्यो । जहाज नउड्ने भएपछि यात्रुलाई निकाल्न निगमका कर्मचारीहरुलाई हम्मे हम्मे परेको थियो । विमानस्थल प्रहरीका अनुसार, यात्रुहरूले निगमविरुद्ध नाराबाजी गरेका थिए । केहिले जहाजमा राखेको मिल (खाना) आफैं निकालेर खाए । ‘केहीले बियरका बोतल खोलेर बसेको पनि देखियो,’ विमानस्थलका एक वरिष्ठ प्रहरीले भने ।

मंगलबार राति साढे ८ बजेदेखि बोर्डिङ गराइएका यात्रुलाई बुधबार बिहान ५ बजे विमानस्थलमा रहेको प्रहरीको सहायतामा ‘अफ–बोर्ड’ गराइएको थियो । ११ घण्टापछि बिहान पौने नौ बजे मात्रै उक्त विमान दुबईका लागि काठमाडौंबाट उडेको थियो ।

उक्त घटना देखेका अर्का एक प्रहरीले ‘ती यात्रुलाई बल प्रयोग नगरी सम्झाईबुझाई गरेर’ निकालेको बताए । उक्त उडानमा अधिकांश नेपाली कामदार थिए ।

यसैबीच पर्यटन मन्त्रालयले यस घटनाको ५ दिनभित्र छानबिन गर्न सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको आजको कान्तिपुरमा खबर छ ।