चितवन महोत्सव हुने भएको छ

काठमाडौँ, १९ पुस | आगामी पुस २५ देखि माघ ४ गतेसम्म चितवनस्थित नारायणी नदी किनारमा ‘चितवन महोत्सव’ हुने भएको छ । यो महोत्सवको १२औँ संस्करण हो ।

भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति चितवन र उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा हुन लागेको उक्त महोत्सवमा आठ विशेष कक्षसहित ५३० कक्ष रहने मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिनुभयो । सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष सन् २०२०’लाई सफल पार्नु महोत्सवको उद्देश्य रहेको छ ।

महोत्सवमा जिप सफारीको व्यवस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय जनावरको प्रतिमूर्ति समावेश गरिएको कृत्रिम चिडियाखाना तथा बालुवामा कुदिएको २० फिट लम्बाइ र १० फिट चौडाइ भएको माछाको कलात्मक आकृति राखिनेछ । त्यसैगरी विविध खेलकूदसँगै जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा र कला संस्कृतिकसहितको कार्यक्रम रहनेछ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधानले उत्पादन हुने वस्तु, विभिन्न किसिमका व्यवसाय र कला संस्कृतिका बारेमा जानकारी दिनका लागि समय समयमा महोत्सवको आयोजना गर्नुपर्ने धारणा राख्नुभयो । रासस