घुस लिएका प्रहरी जवान अख्तियारको जिम्मामा

काठमाडाँै, २० चैत । महानगरीय प्रहरी परिसर काठमाडौँले घुससहित नियन्त्रणमा लिइएका प्रहरी जवान गणेश लोहारलाई आवश्यक कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ । महानगरीय दङ्गा नियन्त्रण गण त्रिपुरेश्वरमा दरबन्दी भई वैदेशिक रोजगार विभाग कार्यालय, ताहचलमा खटिएका लोहारले साउदी अरेबियाका लागि श्रम स्वीकृति लिने सिलसिलामा सेवाग्राहीसँग रु १७ हजार घुस लिएका थिए ।

सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनलाई महानगरीय प्रहरीवृत्त, कालीमाटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । लोहारलाई आवश्यक कारवाहीका लागि आयोगमा पठाइएको र उनीमाथि अनुसन्धान शुरु गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । रासस