कांग्रेस कर्णाली प्रदेश संसदीय दलद्वारा राहत घोषणा

सुर्खेत, २० चैत । नेपाली काङ्गे्रस कर्णाली प्रदेश संसदीय दलले प्रदेश नं २ का बारा र पर्साका हावाहुरी प्रभावित परिवारलाई राहत घोषणा गरेको छ ।

संसदीय दलको कार्यालय प्रदेशसभा भवनमा आज बसेको बैठकले दलका नेताको सात र प्रदेशसभा सदस्यहरुको चार दिनको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो । कूल ४० सदस्यीय कर्णाली प्रदेशसभामा काङ्गे्रसका ६ जना प्रदेशसभा सदस्य हुनुहुन्छ । संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेशसभाको मङ्गलबारको बैठकमा विशेष समय लिई प्रदेश नं २ का हावाहुरी पीडित परिवारलाई राहत घोषणाका लागि साझा प्रस्ताव ल्याउन आग्रह गर्नुभएको थियो ।

“सभामुखको नेतृत्वमा सदनमा राहत घोषणासम्बन्धी साझा प्रस्ताव ल्याऔँ, विपद्का बेला प्रदेश नं २ का बासिन्दाको भावनासँग जोडिऔँ भन्ने हाम्रो भनाइ थियो”, उहाँले भन्नुभयो, “सत्तारूढ दलले चासो देखाएन, सङ्ख्यात्मक रुपले हामी थोरै भए पनि तराईको पीडामा मल्हम लगाउने प्रयत्नस्वरुप राहत घोषणा गरेका हौँ ।”

सुशासन विधेयक पारित

प्रदेशसभाको आजको बैठकले ‘कर्णाली प्रदेश सुशासन ऐन, २०७५’ पारित गरेको छ । विधायन तथा प्रदेश मामिला समितिमा छलफलपछि संशोधनसहित विधेयक पारित भएको हो ।

बैठकमा समितिका अध्यक्ष पदम रोकायाले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समितिको प्रतिवेदनलाई विधेयकको अभिन्न अङ्गका रुपमा स्वीकार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यस्तै ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई पहिलो संशोधन गर्न बनेको विधेयक’ माथि संशोधनका लागि ७२ घण्टे समय सीमा लागू भएको छ । विधेयकमाथि सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुखले संशोधनको सूचना जारी गर्नुभएको थियो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाका तर्फबाट कानूनमन्त्री नरेश भण्डारीले उक्त विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो । रासस