व्यवसायीले राहत सामग्री निःशुल्क ढुवानी गर्ने

काठमाडौँ, २० चैत । बारा र पर्सामा गत आइतबार साँझ आएको हावाहुरीबाट पीडितका लागि राहत सामग्रीको ढुवानी निःशुल्क गरिने भएको छ ।

नेपाल सामान ढुवानी व्यवसायी सङ्घको आज बसेको बैठकले उक्त क्षेत्रमा प्रदान गरिने राहत सामग्री निःशुल्क ढुवानीको व्यवस्था गर्ने निर्णय गरेको हो । सङ्घका अध्यक्ष श्यामकुमार डङ्गोलले राहत सामग्री लैजाने तयारीमा रहेका विभिन्न सङ्घ, संस्था, व्यक्तिलगायत सहयोगी र दातालाई सङ्घसँग समन्वय गर्न आग्रह गर्नुभयो ।

उहाँले राहत सामग्री काठमाडौँदेखि वितरणस्थलसम्म पु¥याउन सहयोग गरिने बताउनुभयो । सङ्घले हावाहुरीमा परी दिवङ्गत हुनुभएकाको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । एक नेपालीले अर्को नेपालीलाई गाह्रो पर्दा मन खोलेर सहयोग गर्ने संस्कारअनुसार सहयोगी हात अगाडि बढाउन सङ्घले आह्वान गरेको छ । सङ्घको तर्फबाट उपलब्ध गराउन लागिएको निःशुल्क सेवाका लागि नेपाल सामान ढुवानी व्यवसायी सङ्घ, सानो भ¥याङ, काठमाडाँैको सम्पर्क नं ०१–४२८६३१२, ४२७१३३१ र ९८४१२८८९६१ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

काठमाडौँ सामान ढुवानी व्यवसायी सङ्घ, ठूलो भ¥याङको सम्पर्क नं ०१–४६७१४५८ वा ९८५१०३०३३८ तथा वीरगञ्ज ट्रान्सपोर्ट एशोसिएशन, आदेश नगर वीरगञ्जका सचिव नवराज अधिकारीको सम्पर्क नं ९८४५०३३३६१ मा सम्पर्क गर्न सहयोगदातालाई अनुरोध गरिएको सङ्घका सचिवद्वय पुष्पराज श्रेष्ठ र अरुणकुमार श्रेष्ठद्वारा जारी वक्तव्यमा उल्लेख छ । रासस