वन डढेलो नियन्त्रण ‘नासा’को तस्वीर

–भीष्मराज ओझा

सरकारले वर्षेनी वन डढेलोबाट हुने क्षति रोक्न सतर्कता प्रणाली (अलर्ट सिष्टम) सहितको ‘अग्नि नियन्त्रण कक्ष’ स्थापना कार्य अघि बढाएको छ ।

सो कक्षमा अमेरिकी वैज्ञानिक संस्था नासाको मोडिस् स्याटलाइटले पठाउने सङ्केतका आधारमा सम्बन्धित स्थानीय वन अधिकारीलाई डढेलोको सूचना स्वचालित रुपमा दिने प्रणालीको विकास गर्न लागिएको छ । वन तथा वातावरण मन्त्रालयले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोगमा वन तथा भू–संरक्षण विभागमा स्थापना गर्न लागेको कक्ष एक सातामा सञ्चालनमा ल्याइने कक्षका सम्पर्क व्यक्ति सुन्दर शर्माले जानकारी दिनुभयो ।

नासाको स्याटलाइटले गुगलअर्थमा निरन्तर पठाउने डढेलोसम्बन्धी तस्वीर ‘अग्नि नियन्त्रण कक्ष’मा रहेको ठूलो आकारको डिस्प्ले मोनिटरमा देखिने बित्तिकै सम्बन्धित वन अधिकारीलाई डढेलोको सूचना प्रवाह हुनेछ । जुन तस्वीर ९५ प्रतिशतभन्दा बढी विश्वासनीय हुन्छ । नेपालमा पहिलो पटक स्थापना हुन लागेको यो मोडेल दक्षिण एशियामा नै पहिलो भएको विभागको दाबी छ । कक्षमा आवश्यक प्रविधि जडानको कार्य अन्तिम चरणमा पुगेको छ भने हाल पाँच जना कर्मचारीको दरबन्दी कायम गरिएको छ ।

“मोनिटरमा तत्काल कहाँ कहाँ आगो लागेको छ भनी देख्न सकिन्छ र आगो लागेको देखिने रातो सङ्केतका आधारमा सरोकारवाला अधिकारीलाई एसएमएसमार्फत सूचना जान्छ” डढेलो विज्ञसमेत रहनुभएका शर्माले भन्नुभयो । यो प्रणाली सञ्चालन गर्न विभागले सबै डिभिजन र सब डिभिजन वन कार्यालयका अधिकारी र अन्य सरोकारवाला व्यक्तिको नम्बर तथा विस्तृत जानकारी लिइसकेको छ । मोनिटरमा देखिने आगोका सङ्केतमा क्लिक गर्दा कुन जिल्ला, कुन स्थानीय तह, कुन वडा र कुन टोल वा बस्ती नजिक तथा कुन जङ्गलमा आगो लागेको हो भन्ने जानकारी देखिन्छ ।

सोही सूचनाका आधारमा ती इमेल र मोबाइल नम्बरबाट सूचना स्वतः प्रवाह हुन्छ । उहाँले भन्नुभयो, “यो प्रणालीअन्तर्गत नासाको स्याटालाइटले जमीनमा कम्तीमा १०० मिटर ग्रिडसम्मको आगोको बारेमा मात्र सङ्केत दिने गर्छ । सानातिना आगो वा घरका छानाले ढाकेका आगो नदेखिन सक्छ ।”

वैशाख दोस्रो साता सबैभन्दा बढी डढेलो

सूचना पाएपछि सम्बन्धित वन अधिकारीले स्रोत साधनले भ्याएसम्म आगो निभाउने र बस्ती वरपरका आगलागीका बारेमा सर्वसाधारणलाई सूचित गर्ने मन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । हरेक जिल्लामा आगो निभाउन सुविधा सम्पन्न प्रविधिसहित समूह बनाउने मन्त्रालयको तयारी छ । यद्यपि डढेलो नियन्त्रणका लागि प्रतिकार्य गर्न स्थानीय वन कार्यालयसँग हाल पर्याप्त क्षमता भने छैन ।

नेपालमा वैशाख दोस्रो साता सबैभन्दा बढी डढेलो लाग्ने समय हो । साथै ८० प्रतिशतभन्दा बढी आगलागी मध्य फागुनदेखि मध्य वैशाखसम्म लाग्ने गरेको छ । नेपालमा ६४ प्रतिशत वन डढेलो व्यक्तिले जानी–जानी लगाउने, ३२ प्रतिशत लापरवाही तथा दुर्घटनाबाट वनमा आगलागी हुने र चार प्रतिशत अन्य स्रोतबाट आगलागी हुने गरेको छ । पशुपालनका नयाँ पालुवा आउने उद्देश्यले सुकेका पातमा आगो लगाउने गरिन्छ । तसर्थ यो जनताको जीविकोपार्जनसँग सम्बन्धित भएकाले यसमा वैकल्पिक व्यवस्थाका बारेमा सचेत गराउनुपर्ने आवश्यकता देखिन्छ । वन डढेलोले आगलागीको घेरामा परेर मानिसको मृत्यु हुने, धनसम्पत्ति, बस्तुभाउ र जङ्गली जनावर नष्ट हुने, जैविक विविधताको विनाश, मानिसको स्वास्थ्य र वातावरणमा असर पर्ने गरेको छ ।

प्रवक्ता डा ढुङ्गानाले डढेलो नियन्त्रणका लागि नियमित वार्षिक कार्यक्रमका रुपमा जिल्ला वन कार्यालयबाट तालीम, गोष्ठी, जनचेतना, प्रचार सामग्री प्रकाशन, सुरक्षा निकायसँग समन्वय, वन डढेलोजस्ता सञ्जाल गठनलगायत कार्यक्रम गर्दै आएको बताउनुभयो । मन्त्रालयले स्थानीय कार्यालयमार्फत वन डढेलो नियन्त्रणका लागि पानी झोला, दमकल, जेनेरेटर, अन्य आवश्यक उपकरण परिचालन गरिरहेको उहाँको भनाइ थियो । प्रत्येक वर्ष चैत वैशाखको सुख्खा समयमा तराई र पहाडका वनमा जनचेतनाको कमीका कारण मानव सिर्जित कारणले ठूलो क्षेत्रमा डढेलो लाग्ने गरेको छ ।

वनमा नियतवस, अन्जानमा र दुर्घटनावस मानव सिर्जित कारणबाट हुने डढेलो मौसमको तापक्रम, भू–वनोट र वनस्पतिमा आधारित रहेर फैलिन्छ । डढेलोले सबै वनक्षेत्र विनाश नहुने भए पनि साना बिरुवा, घस्रिने तथा छिटो दौडन नसक्ने जनावर बढी क्षति हुने गरेको छ । सन् २०१८ मा वन डढेलोबाट चार जनाको निधन भएको थियो भने एक घाइते भएको विभागको तथ्याङ्क छ । रासस