शुुक्रबारे विमानस्थलको प्रारम्भिक सर्वेक्षण

सङ्खुवासभा, २० चैत । जिल्लाको पर्यटकीय एवं धार्मिक तथा ऐतिहासिक महत्व बोकेको चैनपुर नगरपालिकाको शुक्रबारे डाँडा विमानस्थलका लागि प्रारम्भिक सर्भे सम्पन्न भएको छ ।

भू–धरातल मिलेको रमणीयस्थलमा अवस्थित एक हजार ४५० मिटर लामो र एक सय मिटर चौडा शुक्रबारेमा विमानस्थलको सर्वेक्षण गरिएको हो । निर्माणका लागि स्थानीयवासीको सक्रियता बढेसँगै चारवर्ष अघिबाट सो ठाउँमा विमानस्थल निर्माणका लागि पहल कदमी अघि बढाएपछि तत्कालीन निर्वाचन क्षेत्र विकास कोषको रु सात लाख विनियोजन गरी मैदान सम्याउने काम गरिएको थियो ।

नगरपालिकाका प्रमुख भरतकुमार खत्रीको अगुवाइमा पुन प्रारम्भिक सर्भेका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री स्व. रवीन्द्र अधिकारीसँग तोक आदेश गराएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट खटिआउनुभएका वरिष्ठ इञ्जिनीयर कविन्द्रकाजी बज्राचार्यले स्थलगत सर्भे गर्नुभएको हो ।

नेपालको पूर्वी पहाडका पहाडी जिल्ला ताप्लेजुङको दोभान बारिका बस्ती, तेह्थुम, धनकुटा, सङ्खुवासभाका जनतालाई सो विमानस्थल निर्माण भए सोझै देशको राजधानीलगायत देशका ठूला शहरसँग जोड्न सकिने नगर प्रमुख खत्रीले जानकारी दिनुभयो । सङ्खुवासभाको तुिम्लङटार एयरपोर्ट वर्षाद र जाडोको समयमा, हुस्सु र तुवाँलोका कारण उडान भर्न नसकि जहाज सिधैँ काठमाडौँ वा विराटनगर फर्काउनुपर्ने बाध्यता रहेको विमानस्थल निर्माण समितिका अध्यक्ष ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो । रासस