कक्षामा प्रथम बनाइदिन्छु भन्दै १३ बर्षीय छात्रालाई बलात्कारको प्रयास गर्ने शिक्षक प्रहरी नियन्त्रणमा

फिदिम, २० चैत्र । १३ वर्षीया छात्रालाई कक्षामा प्रथम बनाइदिन्छु भन्दै यौन दुर्व्यवहार गर्ने एक शिक्षक पक्राउ परेका छन् ।

कक्षा ८ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौधरी मङ्गलबार पक्राउ परेका हुन् ।

विज्ञान विषयका शिक्षक चौधरीले बालिका घरमा एक्लै भएको मौका छोपी ललाइफकाइ यौन दुर्व्यवहार गरेको पीडितले बयान दिएकी छन् ।

बालिकालाई परीक्षामा प्रथम बनाइदिने प्रलोभन देखाउँदै यौन दुर्व्यवहार प्रयास गरेको पीडित आफन्तले प्रहरीमा उजुरी दिएपछि चौधरीलाई मङ्गलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए ।