मानसिक हिंसाप्रति हेल्चेक्रयाइँ’

घोराही, २० चैत । तुलसीपुरकी एक महिलाले १५ वर्षसम्म हिंसा सहनुभयो । पढेलेखेको शिक्षित पति र पुरातन सोच भएकी सासूले उहाँलाई दिनरात दुःख दिए ।

१४ वर्षकै उमेरमा आफूभन्दा दोब्बर बढी उमेरको पुरुषसँग जबर्जस्ती अनमेल विवाह गर्नुभएकी उहाँले विवाह भएदेखि नै हिंसाको शिकार बन्नुप¥यो । “यति धेरै हिंसा भयोकी कुनै समय मर्ने तयारीमा समेत पुगेको थिए ।” उहाँले पुरानो कुरा सुनाउनुभयो । जीवनदेखि हार खाइसकेको अवस्थामा उहाँले एउटा समूहको सम्पर्कमा आइपुग्नुभयो र त्यही समूहमा महिला हिंसाविरुद्धका दुई चार वटा कुरा सिक्ने अवसर पाउनुभयो ।

“समूहमा बस्दा मानसिक परामर्श पाए । घरेलु हिंसाको विषयमा बुझे र दुई चार वटा कुरा बोल्न सिके । त्यसपछि त्यो कुरा परिवारलाई बुझाउनतिर लागे ।” समूहमा लागेपछि आफूले जानेको कुरा परिवारलाई बुझाउन थालेको उहाँले बताउनुभयो । अनि सासूलाई पनि समूहमा ल्याउनुभयो । त्यसपछि उहाँको दैनिकी फेरियो । जीवनले नयाँ मोड लियो । उहाँ भन्नुहुन्छ, “हरेक महिलालाई मानसिक परामर्शको खाँचो छ । महिला घरभित्र कुनै न कुनै प्रकारको मानसिक हिंसामा छन् ।”

यस्तै घोराही बजारकी मुस्लिम परिवारकी एक महिलालाई पतिले सम्बन्धविच्छेदको लागि दबाब दिए । विभिन्न बाहनामा उहाँ माथि यातना भयो । यातना सहन नसके पछि उहाँले दुइतले घरबाट हाम फाल्नुभयो । उहाँले मर्ने प्रयास गरेसँगै अझै धेरै हिंसा शुरु भयो । उहाँलाई मानसिक सन्तुलनमा असर पुग्ने खालका विभिन्न औषधि खुवाइयो पछि ती महिलालाई सिसा संस्थाको सम्पर्कमा आइसके पछि उहाँले आफ्नो वास्तविकता त्यहाँ सुनाउनुभयो ।

मानसिक परामर्श लिनुभयो र नयाँ जीवन पाएको अनुभूत गर्नुभयो । अहिले उहाँले त्यही संस्थामा रहेर काम गरिरहनुभएको छ । लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएकी मुस्लिम समुदायकी महिला साजिदा सिद्धिकी पनि आफू हरेक क्षण मानसिक हिंसासँग लड्दै यहाँसम्म आइपुगेको बताउनुहुन्छ तर पनि उहाँले महिलाले आफ्नो पीडा खुलस्त रुपमा आफन्तलाई सुनाउनुपर्ने धारणा राख्नुहुन्छ ।

विधुवा महिला सरोकार केन्द्रकी अध्यक्ष हुमा डिसीले पनि आफूसँग धेरै मानसिक हिंसाको कथाव्यथा रहेको बताउनुभयो । शुरुमा पति गुमाउँदा र घरबाट निस्केर सामाजिक काममा लाग्दा आफूले धेरै प्रकारको मानसिक हिंसा, गाली बेइज्जती सहनुपरेको बताउनुहुन्छ । समाजमा महिलालाई पनि सबैको साथ, सहयोग, माया एवं आत्मसम्मानको खाँचो रहेको उहाँको धारणा छ । रासस