प्रियंका- निकको सम्बन्धबारे अफवाह फैलाउने म्यागजिनबिरुद्ध मानहानीको मुद्दा !

एजेन्सी, २० चैत्र । बलिउडकी चर्चित नायिका प्रियंका चोपडा र हलिउड पप गायक निक जोनसको सम्बन्धविच्छेदबारे अहिले सबैको चासो र अत्यधिक चर्चा भइरहेको छ ।

एक अमेरिकी म्यागजिनले यो जोडी सम्बन्धविच्छेद गर्ने तयारीमा भएको मनगढन्ते समाचार छापेपछि यसले चर्चा पाएको हो ।

यो खबर प्रकाशित गरेपछि प्रियंका र निकले ओके नामक म्यागजिनमाथि मानहानीको मुद्दा दायर गर्ने भएका छन् ।

इन्टरटेन्मेन्ट वेबसाइट बलिउड लाइफको खबर अनुसार प्रियंकाको कानूनी समहूले यो समाचार बनाउने टेब्लोइडसँग कुरा गर्ने र उनीहरुलाई आफ्नो खबरको खण्डन गर्न भन्नेछन् । यदि यस्तो नभए प्रियंका र निक कथित रुपमा ठूलो राशीको मानहानीको मुद्दा चलाउने योजनामा छन् ।

रिपोर्टले सूत्रको हवाला दिँदै उनीहरु हरेक कुरामा झगडा गरिरहेको दाबी गरेको थियो । पत्रिकाले निकले प्रियंकाको कुरामा आएर विवाह गरेका थिए र अब उनले यसको मूल्य चुकाइरहेकोसमेत भनेको थियो । पत्रिकाले निकको परिवारले विवाह समाप्त गर्नका लागि अनुनय गरिरहेको पनि बताएको थियो ।