काँक्रोखेतीमा व्यस्त चुखाका किसान

–पेमा लामा

बनेपा, २० चैत ।  काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ चुखाका आसमान तामाङ प्रायजसो बारीमा नै व्यस्त देखिनुहुन्छ ।

पेशाले शिक्षक उहाँ विद्यालय समय बाहेक बिहान र बेलुका हिजोआज बारीमा काँक्राका बोट गोडमेल गर्ने, पानी हाल्ने र थाँक्रो हाल्नमै व्यस्त रहनुहुन्छ । काँक्रो खेतीबाट मनग्य आम्दानी लिन सकेकाले विगत सात÷आठ वर्षदेखि सोही खेतीमा व्यस्त हुँदै आएको उहाँले बताउनुभयो ।

“अरु बाली(गहुँ, मकै र जौ) भन्दा धेरै राम्रो आम्दानी हुने भएकाले सबै किसान काँक्रो खेतीतर्फ आकर्षित भइरहेका छन्”, उहाँले भन्नुभयो, “मैले दुई रोपनीमा काँक्रो खेती गरिरहेको छु ।” यही खेतीबाट वर्षको रु दुई देखि तीन लाखसम्म आम्दानी हुने उहाँको भनाइ छ । सिप्रोट नामक संस्थाले २०५७÷५८ सालतिर गाउँमा बीउ उत्पादन गर्ने र त्यसलाई किनेर किसानलाई वितरण गर्ने काम गरेपछि त्यहीँ बेलाबाट तरकारी खेतीमा संलग्न हुँदै आएको उहाँले बताउनुभयो ।

अरु बालीको तुलनामा आम्दानी बढी काँक्रोमा हुने भएकाले सबै किसानले त्यही खेती गर्दै आइरहेका छन् । अर्का किसान ज्ञानीमाया तामाङले दुःख गरे अनुसारको राम्रो आम्दानी काँक्रोबाट हुने भएकाले सोही खेतीलाई निरन्तता दिँदै आएको बताउनुभयो । “पोहोरको भन्दा यसवर्ष अलि बढी जग्गामा खेती गरेको छु”, उहाँले भन्नुभयो, “बिरुवा र थाग्रोको खर्च ठेकेदार आफंैले गरेको छ, हामीले त उत्पादन गर्ने र त्यही ठेकेदारलाई पठाउने हो ।”

त्यसरी खेती गर्दा उत्पादन गरेको तरकारी बिक्री नहुने हो की भन्ने चिन्ता नरहने उहाँको भनाइ छ । सोही ठाउँका दुर्गा श्रेष्ठले यसपाली दुई हजार बिरुवा रोपेको बताउनुभयो । उत्पादन गरेको तरकारी बिक्रीका लागि हुने समस्या नहुने र ठेकेदार आफैले लिन आउने गरेकाले काँक्रोखेती उपयुक्त भएको उहाँले बताउनुभयो ।

“मैले यसरी खेती गरेको चार वर्षभयो, अरु बाली भन्दा यसले बढी र राम्रो आम्दानी हुने भएकाले यसैलाई निरन्तरता दिँदै आएको छु”, श्रेष्ठले भन्नुभयो । अर्का किसान शान्ता लामाले फलेको फल टिप्न र उत्पादनमा बढी राम्रो हुने भएकाले काँक्रो खेती नै बढी उपयुक्त नगदेबालीका रुपमा खेती गर्दै आएको बताउनुभयो । “यसैखेतीबाट वार्षिक दुई÷तीन लाख आम्दानी गर्दै आइरहेको छु”, उहाँले भन्नुभयो, “काँक्राखेती गरेको त्यही बारीमा अरु बाली लगायो भने आम्दानी त के, काम गरेको ज्याला समेत उठ्दैन ।”

खेती गर्न सजिलो र आम्दानी राम्रो हुने भएका कारण पनि यहाँका किसान काँक्रो खेतीतर्फ अकार्षित भएका हुन् । खेती फस्टाएर राम्रो उत्पादन हुने भएकाले पछिल्लो समयमा ठेकेदार आफैले लगानी गरेर किसानलाई काँक्रो उत्पादनमा सहयोग पु¥याउँदै आएका छन् ।

भक्तपुरे लोकल जातको काँक्रो खेती गर्दै आएका यहाँका किसान कोही ठेकेदारको सहयोगमा त कोही आफैले लगानी गरेर खेती गरेका कारण हिजोआज सो गाउँका सबै पाखोबारी र खेतका गरा थाँग्रो र प्लास्टिकका सुतलीले भरिभराउ देखिएका छन् ।

आम्दानीको मुख्य स्रोतको रुपमा काँक्रो खेतीलाई बनाउन थालेपछि काभ्रेपलाञ्चोकका तेमाल गाउँपालिका–२ चुखाका किसान यतिबेला बारीमा काँक्रोको बोट स्याहार्ने र थाँग्रो लगाउनमा व्यस्त छन् । हावापानी उपयुक्त र सिँचाइको सुविधा भएकाले काँक्रोखेती गर्दै आएका किसान बिहानबेलुका नै बारीमा खटिने गरेका छन् । रासस