धार्मिक पर्यटकीयगन्तव्य छायाँमा

पाल्पा, २० चैत । बगनासकाली गाउँपालिका–८ घिउसीबाँसस्थित धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेको सिद्धबाबा ओमधाम क्षेत्रको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ ।

एक सय आठ पिपल र १०८ शिवलिङ्ग रहेको सिद्धबाबाको मन्दिर धार्मिक पर्यटनका लागि उचित गन्तव्यका रुपमा रहेकोे स्थानीय राजेन्द्र बस्यालका अनुसार ९०० रोपनी घनाजङ्गल क्षेत्रमा रहेको मन्दिरमा तपस्या गर्नेलाई शान्त वातावरण छ । पिपलले घेरिएको मन्दिर सुन्दर र आकर्षक देखिन्छ तर पर्यटक आकर्षणका लागि पहल हुन नसक्दा यस क्षेत्र ओझेलमा परेको हो ।

कालीगण्डकी नदीदेखि नजिक रहेको मन्दिरको महत्वबारे प्रचारप्रसार हुन नसक्दा पर्यटक आगमनमा कमी आएको बस्यालले बताउनुभयो । पहिला यस क्षेत्र गाईभैँसीपालन गर्ने क्षेत्र थियो । हराएको भैँसी फेला पार्न मन्दिरमा भाकल गरेपछि भेटिएको किंवदन्ती छ । बस्यालका अनुसार हराएको भँैसी भेटिएपछि मन्दिरप्रति विश्वास जागेर मानिस वैशाखको शनिबार र साउनमा सोमबार मन्दिरमा पूजा गर्न आउँछन् । यी दिनमा दैनिक सय बढी भक्तालु यस क्षेत्रमा पुग्दा चहलपहल हुने गर्दछ ।

महाशिवरात्रिका अवसरमा विशेष मेला लाग्दछ । मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहकार युवराज गैरेले ऐतिहासिक महत्व बोकेको यस क्षेलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन राज्यबाट सहयोगको आवश्यक रहेको बताउनुभयो । पर्याप्त बजेट अभावमा थप भौतिक संरचनाको विकास गर्न सरकारको सहयोग आवश्यक रहेको सल्लाहकार गैरेको भनाइ छ । रासस