राहत बाँड्दा पनि अन्जु पन्तको किन गरियो आलोचना ? खास कारण यस्तो रहेछ !

काठमाडौं, २० चैत । सुमधुर आवाजकी धनि गायिका अञ्जु पन्त जति लोकप्रिय छिन् त्यति नै विवादास्पद पनि छिन् ।

हजारौं नेपाली गीतमा स्वर दिएर लाखौँ दर्शक स्रोताको मन जितेकी अञ्जु क्रिस्चियन धर्म अंगालेदेखि नै विवादमा आएकी हुन् ।

अञ्जुले आफ्नो नाममा फाउन्डेसन खोलेर समाजसेवामा पनि हात हालेकी छन् । सो फाउन्डेसनले दुर्गम क्षेत्रका विपन्नलाई विभिन्न समयमा सहयोग गर्दै आएको छ ।

भूकम्प पीडित, बाढीपीडित, आर्थिक रूपले विपन्न दुर्गम गाउँबस्तीमा लत्ताकपडा, पैसा, खाद्यान्न, शैक्षिक सामग्रीलगायत सहयोग गर्दै आएकी अञ्जुले सँगसँगै क्रिस्चियन धर्म प्रचार गर्ने गरेको र बाइबल बाँड्ने गरेको आरोप लगाइएको छ ।

यही क्रममा मंगलबार बिहानदेखि सामाजिक सञ्जालमा एउटा गाडीमा राहत सामग्री र त्यसमा बाइबलका किताब भएको र अञ्जु सँगै उभिएको तस्बिर भाइरल बनेको छ ।

सो तस्बिर तराई मधेसका कुनै ठाउँको हुनुपर्छ । यो तस्बिरमा कमेन्ट गर्नेहरूले अञ्जु बारा र पर्साका हावाहुरी पीडितलाई राहत सामग्रीसँगै बाइबल लिएर गएको उल्लेख गरेका छन् । राहतको नाममा क्रिस्चियन धर्म प्रचार गर्न लागेको भन्दै उनको कडा आलोचना गरिएको छ ।

कतिले गायिका अञ्जुको असली चेहरा छर्लंग भएको, उनको गीतलाई बहिष्कार गर्नुपर्ने, कानुनअनुसार कारबाही गर्नुपर्नेलगायतका कमेन्ट गरेका छन् ।

यद्यपी सो तस्बिर बारा र पर्साका हावाहुरीलाई राहत वितरण गर्न जाँदा खिचिएको हो होइन भन्ने पुष्टि हुन बाँकी छ ।