विनासकारी आँधीको अध्ययन गर्न मौसमविदको टोली आज बारा-पर्सा जाँदै

काठमाडौं, २० चैत । विनासकारी आँधीबेहरीको अध्ययन गर्न मौसमविदको टोली आज बुधबार बारा र पर्सा जाँदै छ ।

मौसम विज्ञान विभागबाट वरिष्ठ मौसमविदद्वय सुजन सुवेदी र अर्चना श्रेष्ठ तथा सहायक मौसमविद गोविन्द झा त्यसतर्फा जान लागेका हुन् ।

उनीहरुले स्थलगत अवलोकन गरी ल्याउने रिपोर्टका आधारमा थप अध्ययनको लागि अर्को उच्चस्तरीय टोली बनाउने-नबनाउने भन्ने निर्णयमा पुग्ने सरकारको तयारी छ ।

मौसमविदले सानो क्षेत्रमा मात्रै क्षति पुर्‍याउने गरी बारा र पर्सामा आएको हावाहुरी असामान्य रहेको र यो अध्ययनको विषय भएको बताउँदै आएका छन् । मौसमविद विभूति पोखरेलले भनिन्, ‘यो नेपालमा एक्सटि्रम केस हो । यसको अध्ययन जारी छ ।’

आइतबार बेलुकीपख आएको हावाहुरीका कारण बारा र पर्सामा २८ जनाको मृत्यु भएको थियो । ३ सय ८४ जना घाइते भएको गृहमन्त्रालयको तथ्यांक छ । आँधीले सयौं घर उजाडिएका छन् भने फलफूल र अन्नबालीमा पनि क्षति पुर्‍याएको छ ।