नीतिगत भ्रष्टाचार न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्न सुझाव

काठमाडौँ, १९ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न बलियो, सक्षम र प्रभावकारी आयोगको विकल्प नभएको बताउनुभएको छ ।

राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले आयोगले संवैधानिक अधिकारको प्रयोग गरी आफ्ना काम कारवाहीलाई अघि बढाएको स्पष्ट पार्दै कुनै पनि राजनीतिक दबाब आयोगमा नआएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विकास निर्माण लगायतका सम्पूर्ण क्षेत्रमा देखिएका भ्रष्टाचार नियन्त्रण गर्न आयोगले खरीद ऐनमा गर्नुपर्ने सुधारका विषयमा सरकारलाई प्रतिवेदन पेश गरिसकेको छ ।” आयुक्तहरु डा गणेशराज जोशी र सावित्री थापा गुरुङले बढ्दो अनियमितता र अनुचित कार्य रोक्ने अधिकार आयोगलाई भए काम गर्न अझै सहज हुने बताउनुभयो ।

बैठकमा सांसदहरुले आयोगले नीतिगत भ्रष्टाचार न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्न नसकेको, ठूला भ्रष्टाचारका मुद्दामा राजनीतिक प्रभाव पर्ने गरेको र भ्रष्टाचार न्यूनीकरणमा शून्य सहनशिलता भने पनि आयोगले त्यसअनुरुप काम गर्न नसकेको भनी पदाधिकारीको ध्यानाकर्षण गराउनुभएको थियो । सांसदहरुले आयोगलाई आफ्ना काम कारवाही अझै प्रभावकारी बनाउन, भ्रष्टाचारका मुद्दालाई नलम्ब्याइ छिटो टुङ्गाउन र आयोजना रोकिने गरी छानबिन प्रक्रिया अघि नबढाउन सुझाव दिनुभएको थियो । रासस