तीन दिनको तलब प्रदेश नं २ लाई

हेटौँडा, १९ चैत ।  प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेश नं २ को बारा र पर्सामा हुरीबाट क्षति भएका सर्वसाधारण नागरिकको आवास निर्माण गर्न प्रदेशसभाका पदाधिकारी र सम्पूर्ण सदस्यका तर्फबाट तीन दिनको तलब उपलब्ध गराउने घोषण गरेको छ ।

प्रदेशसभाको बैठकमा विशेष समय लिएर प्रदेशसभाका सदस्यले राष्ट्रिय महत्व र जनतासँग सरोकार सन्दर्भमा आ–आफ्नो धारणा व्यक्त गर्दै सङ्घीय सरकारको मातहतमा रहेको काठमाडौँस्थित कान्तिबाल अस्पतालमा चिकित्सक र दक्ष प्राविधिकको अभावले दुर्गम भेगबाट आएका बालबालिकाको उपचार गर्ने क्रममा निकै समस्या भोग्नु परेकाले प्रदेश सरकारमार्फत तत्काल चिकित्सक उपलब्ध गराई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ पहल गर्न आग्रह गर्नुभयो ।

प्रदेशसभाका सदस्यले राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने क्रममा ढिलासुस्ती र कम गुणस्तरको सामानको प्रयोग गर्ने गरेकाले प्रदेश सरकारले अब त्यस्ता गतिविधिलाई प्रत्यक्ष आफ्नो निगरानीमा राखी अनुगमनको रिपोर्ट प्राप्त भएपछि कार्वाही अघि बढाउन आग्रह गर्नुभएको थियो । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशमा सार्वजनिक लिखित प्रमाणीकरण ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७५ र प्रदेशमा सूचनाको हकको व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि दफावार छलफलका लागि प्रस्ताव टेबुल गर्नुभएको थियो ।

उक्त विधेयकमाथिको छलफलपछि मन्त्री जम्मकट्टेलले प्रदेश सरकारले प्रजातान्त्रिक संस्कार र आचरणअनुरुप सर्वसाधारण नागरिकलाई राष्ट्रिय महत्वका केही गोप्य बुँदाबाहेक अन्य सूचनाको हक उपलब्ध गराउन पारदर्शी एवम् कानूनसम्मत सूचना हकसम्बन्धी विधेयक प्रदेशसभामा टेबुल गर्नुभयो । उहाँले सूचनाको हकलाई कानूनले अङ्कुश नलाउने नीति रहेको उल्लेख गर्दै प्रदेशसभाको सदस्यका सुझावअनुरुप सूचनाको हकलाई अझ प्रभावकारी बनाउनेतर्फ बृहत् छलफल गरिने बताउनुभयो । प्रदेशसभाको अर्को बैठक चैत २५ गते दिनको १ बजे बस्नेछ । रासस