प्रदेशसभाद्वारा शोक प्रस्ताव पारित

धनगढी, १९ चैत। सुदूरपश्चिम प्रदेशसभाको आज बसेको पहिलो बैठकले प्रदेश नं २ को बारा र पर्सामा प्राकृतिक विपद्का कारण निधन भएका व्यक्तिप्रति गहिरो शोक प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभामुख अर्जुनबहादुर थापाले उक्त शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । निधन भएका व्यक्तिप्रति गहिरो दुःख व्यक्त गर्दै बैठकमा एक मिनेट मौनधारण गरी शोक व्यक्त गरिएको थियो । आजै बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले ‘सुदूरपश्चिम प्रदेश लोकमार्ग विधेयक २०७५’ टेबुल गर्नुभयो ।

बैठकमा प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले यसअघिका प्रदेशसभा बैठकको शून्य समय र विशेष समयमा सदस्यले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । सुदूरपश्चिम प्रदेशसभाका सदस्यबाट आफ्नो एक दिनको पारिश्रमिकबापत रकम प्रदेश नं २ का प्राकृतिक विपद्बाट पीडित परिवारको राहतका लागि सहयोग गर्ने निर्णय भएको बैठकमा अध्यक्षता गर्नुभएकी उपसभामुख निर्मला वडाल जोशीले जानकारी दिनुभयो । अर्को बैठक यही चैत २० गते दिउँसो १ बजे बस्नेछ ।

प्रदेश सरकारको रु एक करोड सहयोग

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नं २ मा भएको प्राकृतिक विपद्बाट पीडित परिवारलाई रु एक करोड राहत उपलब्ध गराउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सरकारको आज बसेको बैठकले प्रदेश नं २ मा भएको प्राकृतिक विपद्बाट पीडितलाई रु एक करोड राहत दिने निर्णय भएको जानकारी दिनुभयो ।

विपद्बाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको र राहत रकम प्रदेश नं २ प्रदेश सरकारको राहत कोषमा जम्मा गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । रासस