भूमिका अनुसारको नेतृत्व र जिम्मेवारी माग गरेका छौँ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, १९ चैत । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले शान्ति सेनामा सहभागिताबारे नेपालको चासोका विषयमा भएको छलफलले राष्ट्रियहित प्रवद्र्धनमा योगदान गरेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घले न्युयोर्कमा आयोजना गरेको शान्ति सेनासम्बन्धी मन्त्रिस्तरीय बैठकमा भाग लिएर आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय सम्मेलनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले संयुक्त राष्ट्रसङ्घको शान्तिकार्यमा पु¥याउँदै आएको योगदान र खेलेको भूमिकाबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसरले मुलुकको प्रतिष्ठा वृद्धि भएको दावी गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “नेपाल र संयुक्त राष्ट्रसङ्घबीच आगामी दिनमा सहयोग र सम्बन्ध विस्तार गर्ने दिशामा अन्तर्राष्ट्रिय समुदायको एक जिम्मेवार सदस्यको रुपमा नेपालले गरेको योगदान तथा प्रतिबद्धता प्रस्तुत गर्न आफ्नो यो भ्रमण सफल भएको छ ।

संयुक्त राष्ट्रसंघले न्यूर्याेकमा आयोजना गरेको शान्ति सेनासम्बन्धी मन्त्रिस्तरीय बैठकमा भाग लिएर मङ्गलबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई भ्रमणबारे जानकारी गराउँदै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल तस्वीर ः नवीन पौडेल, रासस

द्वन्द्वग्रस्त मुलुकमा शान्ति सेना खटाउने मुलुकको सूचीमा नेपाल अहिले पाँचौँ स्थानमा छ । उपप्रधानमन्त्रीसँगको भेटमा महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायम गर्न संयुक्त राष्ट्रसङ्घको भरपर्दाे साझेदारको रुपमा नेपालले खेलेको भूमिका लागि कृतज्ञता व्यक्त गर्दै नेपालले हासिल गरेको राजनीतिक रुपान्तरणका लागि बधाई ज्ञापन गर्नुभएको थियो ।

नेपाली सेनामा आफ्नो व्यावसायिकता, जिम्मेवारी र अनुशासित चरित्रका भएका कारण शान्ति सेना खटिएका मुलुकका जनताको पहिलो रोजाइमा पर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिवसँगको भेट र सम्मेलनका क्रममा शान्ति सेनामा भूमिकाअनुसारको नेपालले नेतृत्वदायी तहमा जिम्मेवारी पाउनुपर्ने तथा १० हजारको सङ्ख्यामा नेपाली सेनालाई शान्ति सेनामा पठाउन सकिने सुझाव प्रस्तुत गरेको उहाँले जानकारी दिनुभयो ।

विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि नेपालले ६१ वर्षदेखि गर्दै आएको कामको निरन्तरता मात्र होइन, राष्ट्रसङ्घले त्यसलाई व्यवस्थित र प्रभावकारी तुल्याउन आवश्यक रहेको बारेमा पनि हाम्रो तर्फबाट सुझाव प्रस्तुत भएको उपप्रधानमन्त्री पोखरेलले जानकारी दिनुभयो । राष्ट्रसङ्घको आह्वानमा हालसम्म एक लाख ४० हजारको हाराहारीमा नेपाली सेनाले विश्वका विभिन्न मुलुकमा पुगेर योगदान पु¥याइसकेको छ भने हाल ११ मुलुकका १२ वटा मिसनमा नेपाली सेनाले शान्ति सैनिकका रुपमा काम गर्दै आएको छ ।

नेपालले शान्ति सेनामा एक इन्फेन्ट्री गण, एक फोर्स प्रोटेक्सन कम्पनी, दुई फोरमेड पुलिस युनिट तथा अन्य अधिकृत र पर्यवेक्षक उपलब्ध गराउने सक्ने प्रतिबद्धता व्यक्त गरेको छ । न्यूर्याेकमा रहँदा उहाँले त्यहाँ आयोजना भएको लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रममा उद्योगी, व्यवसायी र बौद्धिक समुदायसँग अन्तरक्रिया गर्नुभएको थियो । उपप्रधानमन्त्रीका स्वागतको लागि रक्षा सचिव रेश्मीराज पाण्डे, बलाध्यक्ष रथी शरद गिरी विमानस्थल पुग्नुभएको थियो । (श्रव्य र तस्बीर संलग्न छ ।)