आँधीहुरी भएको ठाउ मै पुगेर प्रचण्डले गरे प्रत्यक निधन भएकाका परिवारलाई ५ लाख दिने घोषणा

काठमाडौं, १९ चैत्र । गत आईतबार साँझ आएको विनाशकारी आंधीका कारण बारा र पर्सामा दर्जनौले ज्यान गुमाए भने सैयौ बेघरबार र घाइते भए । मंगलबार घटना स्थल निरीक्षण तथा राहत वितरण गर्न पुगेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा आँधी हुरीमा परी निधन भएकाका परिवारलाई पार्टीको तर्फबाट ५ लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन्।

त्यति मात्र हैन फेटा गाउँपालिकामा मंगलबार आयोजित राहत वितरण कार्यक्रममा बोल्दै आँधी हुरीले क्षति पुर्याएका घरहरुको निर्माण गरिदिने सरकारले निर्णय गरेको पनि पीडितलाई जानकारी गराए। त्यसै गरि घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था सरकारले मिलाएको प्रचण्डले स्पष्ट पारे ।

आंधीहुरीले २७ जनाको ज्यान लिएको पुष्टि भैसकेको छ ।

बारा र पर्साका आँधीहुरी प्रभावित क्षेत्र पुगेका शेर बहादुर देउवाले भने : २५ लाख सहयोग दिन्छु

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र सङ्कटको यस घडीमा सबै एक भएर हावाहुरीबाट पीडित भएकालाई सहयोग गर्न आग्रह गर्नुभएको छ । असिनापानीसँगै आइतवार साँझ बारा र पर्सामा आएको शक्तिशाली हुरीबाट घाइते भई वीरगञ्ज उपक्षेत्रीय अस्पताल तथा नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेको स्वास्थ्य अवस्था बुझने क्रममा उहाँले अहिलेको यस सङ्कटको घडीमा हावाहुरीबाट प्रभावित भएका पीडितलाई राहत तथा पुर्नवास कार्यक्रममा सक्दो सहयोग गर्न आग्रह गर्नुभएको हो ।

उहाँले हावाहुरीबाट प्रभावितको समस्या सम्बोधन नभएमा काङ्ग्रेसले संसद्लगायतका स्थानबाट आवाज उठाउने बताउनुभयो । आजै सभापति देउवाले हावाहुरीबाट प्रभावित बाराको फेटा गाउपालिकाको भलुही, भरवलीयालगायतका क्षति भएका गाउँको स्थलगत निरीक्षण गर्नुभएको थियो । यसैगरी आजै फेटा गाउँपालिका–१ भरवलीयाको राजपा अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारी, राजपा अध्यक्ष राजेन्द्र महतो, अनिल झा, प्रदेश नं २ का मन्त्री जीतेन्द्र सोनललगायतले स्थलगत निरीक्षण गरी पीडितका समस्याबारे जानकारी लिनुभएको थियो ।

मंगलबार आंधीहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न पुगेका नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाले हुरी प्रभावित परिवारको सहयोगको लागि २५ लाख रुपैँया सहयोग गर्ने घोषणा गर्नुभएको छ । यो सहयोग व्यक्तिगत नभएर आफ्नो पार्टीको तर्फबाट गरिएको स्पष्ट पार्नु भयो ।