बोनी कपुर उर्वशीसँग नजिकिन खोजेको भन्ने समाचार छाप्ने पत्रिकालाई उर्वशीले दिइन् मुखभरिको जवाफ !

मुम्बइ, १९ चैत्र । बलिउड नायिका उर्वशी रौतेला र निर्माता बोनी कपुरको एक भिडियो सामाजिक संजालमा सार्बजनिक भएपछि भारतीय मिडियाले बोनी कपुर उर्वशीसँग नजिकिन चाहेको आरोप लगाएका छन् ।

यो भिडियो एक विवाह कार्यक्रमको हो । भिडियोमा देखिए अनुसार उर्वशी र दिबंगत अभिनेत्री श्रीदेवीका पति समेत रहेका बोनी कपुर सँगै क्यामरामा पोज दिइरहेका छन् । यसबीचमा बोनीले उर्वशीको नितम्बमा बिस्तारै हिर्काएको देखिएको छ । यसैलाई आधार बनाएर भारतीय मिडियाले बोनी कपुर उर्वशीसँग नजिकिन खोजेको तर्क दिंदै समाचार संप्रेषण गरेको हो ।

यता उर्वशीले भने यस समाचारको खण्डन गर्दै सामाजिक संजाल ट्वीटरमा एक स्टाटस पोष्ट गरेकी छिन् । उनले एक समाचार च्यानलद्वारा देखाइएको त्यो रिपोर्टको स्क्रिनसट आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गर्दै लेखिन्, ‘यो सम्भवतः देशको शीर्ष पत्रिका हो र तपाईं यसलाई समाचार भन्नुहुन्छ ? तपाईंलाई यदि महिलालाई सम्मान गर्न आउँदैन भने महिला स्वतन्त्रता, महिला शक्तिबारे कुरा गर्दै नगर्नुहोस् ।’