सन्तानको मायामा ज्यान दिने महान ‘आमा’ बनिन् मालती दास, जसले ४५ दिनकी छोरीलाई बचाएर संसार त्यागिन् !

बारा, १९ चैत्र । बाराको फेटा गाउँपालिका वडा नम्बर १ भरवलियाकी मालती दास आइतवार बेलुका ४५ दिनकी छोरीलाई काखमा लिएर घरमा खाना बनाउँदै थिइन् । एक्कासि हावाहुरी मडारिएर आयो त्यसपछि उनको इँटा र माटोले बनाइएको कच्ची घरको छानो उडायो र घर लडायो, गगन अर्यालले लोकान्तरमा लेखेका छन् ।

उनले छोरीलाई काखी च्यापिरहिन् । पत्तो नपाउँदै माथिबाट बाँस खसेर उनको ढाडमा च्याप्यो । घोप्टो परेर काखी च्यापेकाले छोरीलाई केही हुन पाएन । तर उनी बेहोस् भइन् ।

ससुरा नरेश दास र जेठी छोरी पूजा पनि घरमै थिए । घटना यसरी अपर्झट भयो कि उनीहरूले केही गर्नै भ्याएनन्, मात्र त्यो कहालीलाग्दो क्षणको साक्षी बने ।

हावाहुरी सकिएपछि मालतीलाई अस्पताल लगियो । दुर्भाग्य ! उनले प्राण त्यागिसकेकी रहिछन् । परिवारमा नसोचेको बज्रपात आइलागेपछि पीडामा भावविह्वल छन्, नरेश ।

४५ दिने नाबालिकालाई त के भयो भन्ने नै थाहा छैन, तर जेठो छोरी पूजा आमालाई सम्झिएर भक्कानिँदैछिन् । आफ्नै आमाको त्यो अवस्था देखेकी पूजाको बाल मस्तिस्कमा नराम्रो असर परेको छ ।

आमाको न्यानो काख त गुमएकी छन् नै जिन्दगीभरलाई घोचिरहरने कहालीलाग्दो दृष्य पनि उनको मानसपटलमा नाचिरहेको छ ।