तिब्र गतिमा सहजपुर–बोगटान सडकको काम

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिकासम्म कालोपत्र हुने बोगटान सडकको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढिरहेको छ ।

उक्त सडकमा अहिले धमाधम रुपमा डबलकटिङको काम शुरु गरिएको छ । सडकखण्डको सहजपुरबाट डबलकटिङको काम तीव्ररुपमा शुरु भएको सोयल टेस्ट कनसल्टेन्सिका इञ्जिनीयर राजकुमार पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “कालोपत्र गर्नका लागि नौ मिटर चौडा सडक आवश्यक पर्ने भएकाले हामीले अहिले डबलकटिङको कार्य तीव्ररुपमा शुरु गरिरहेका छौँ ।”

डबलकटिङ गर्दा अधिकांश स्थानीयका घर, खेतबारी तथा जमीनमा लगाइएको बाली नोक्सानी हुन थालेकाले काम गर्नमा केही समस्या उत्पन्न भएको इञ्जिनीयर पोख्रेलले जानकारी दिनुभयो । “डबलकटिङ गर्दा चुरे गाउँपालिकाका केही स्थानीयका घर खेत जान थालेकाले मुआब्जा माग्दा केही समय समस्या उत्पन्न भएको थियो”, उहाँले भन्नुभयो, “स्थानीय जनप्रतिनिधिसहित हामी बसेर छलफल गरी समस्या समाधान गरिसकेका छौँ, काम निरन्तर चलिरहेको छ ।”

चार वर्ष पहिले भएको सर्वेअनुसार नै अहिले उक्त क्षेत्रमा डबलकटिङ गर्दा स्थानीयका घरबारी तथा खेतीलगायका जमीन मासिन थालेको बोगटान गाउँपालिका बिपी नगर–१ का बासिन्दा कृष्णबहादुर क्षेडालले बताउनुभयो । सहजपुरदेखि बडीकेदारसम्म ५० किलोमिटर सडक ३० महीनाभित्रमै कालोपत्र गरिने लक्ष्यअनुसार ठेकेदार कम्पनीले धमाधम रुपमा काम अघि बढाइएको हो । रु दुई अर्ब पाँच करोडमा उक्त सडक कालोपत्रेको जिम्मा कुमार श्रेष्ठ निर्माण सेवालाई दिइएको छ ।

कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको बिपी नगरदेखि बडीकेदारसम्म २८ किमी सडक कालोपत्रे हुने भएको हो । सडक कालोपत्र भए कैलालीका तत्कालीन दुई र डोटीका १७ गाविसका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने सांसद प्रेमबहादुर आलेमगरले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक समृद्धिको मेरुदण्ड मानिएको सहजपुर बोगटान सडक कालोपत्र भए जनतालाई निकै सुविधा मिल्ने छ, कालोपत्रको कार्यमा अवरोध हैन, सहयोग गरौँ ।”

भारतको एक्जिम बैंकको ऋण प्रक्रियाबाट नेपाल सरकारको सडक विभागले उक्त सडक कालोपत्रे गर्न लागेको बताइएको छ । प्रधानमन्त्री ओलीले उक्त सडकको गत फागुन ७ गते कालोपत्रेको शिलान्यास गर्नुभएको थियो । रासस