बार अध्यक्षमा चण्डेश्वरको अग्रता

काठमाडौँ, १९ चैत। कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिनुभएको छ ।

झापा, इलाम र उच्च अदालत विराटनगर, धनकुटा, उदयपुर, सिराहा, बारासम्मको अहिले अपराह्न १ः२० बजेसम्ममा ५०२ मत गणना गर्दा श्रेष्ठले ३५२ मत प्राप्त गरी अग्रता लिनुभएको छ । बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले २५८ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिनुभयो । त्यसैगरी, महासचिवमा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले ३३६ मत र लोकतान्त्रिक समूहका लीलामणि पौडेलले २५८ मत प्राप्त गर्नुभएको छ । सोमबार साँझ ५ बजेदेखि मतगणना शुरु भएको थियो । आज ९ बजेदेखि मतगणना भइरहेको छ ।

पच्चीसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो । बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा देशभरका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।रासस