लघुउद्यम विकास कार्यक्रम गठन

–विजय रावत

जुम्लाको हिमा गाउँपालिकामा उपाध्यक्ष हिमाली रोकायाको अध्यक्षतामा पाँच सदस्यीय गाउँ उद्यम विकास समिति गठन गरिएको छ । गाउँपालिकामा आज भएको लघुउद्यम विकास कार्यक्रमअन्तर्गत बस्ती छनोट कार्यक्रमका अवसरमा सो समिति गठन गरिएको छ ।

उक्त समितिले उद्यम विकास कार्यक्रमका बारेमा जानकारी दिने, बस्ती छनोट गर्ने र गाउँमा उद्यम विकास समिति गठन गर्ने ग्रामीण परिवेश नेपाल जुम्लाका अध्यक्ष अमर रोकायाले जानकारी दिनुभयो । उद्योग मन्त्रालयअन्तर्गत घरेलु तथा साना उद्योग विकास समितिको सहयोग र ग्रामीण परिवेश नेपालको सहजीकरणमा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन भएको छ ।

मेड्पा कार्यक्रमअन्तर्गत क्लष्टर नम्बर एक अन्तर्गत पर्ने उक्त गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्न लागिएकाले गाउँकार्यपालिका सदस्य र विषयगत कार्यालयका प्रमुखलाई अभिमुखीकरण गराइएको छ । गाउँमा रहेको गरीबीलाई न्यूनीकरण गर्नको लागि उद्यम विकास कार्यक्रमले सहयोग गर्ने अध्यक्ष रोकायाले बताउनुभयो । उहाँका अनुसार, विभिन्न व्यावसायिकमूलक तालीम तथा उपकरण उपलब्ध गराउने जानकारी दिनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष हिमालीले गरीबी न्यूनीकरणका लागि लघु उद्यम विकास कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । महिला तथा युवाले सिक्न चाहेको सीप सिकेर स्वरोजगार बन्न सकिने उहाँको भनाइ छ । उहाँका अनुसार कार्यक्रमले स्थानीय स्रोत, सीप र साधनको उपयोग गर्ने, रोजगारीको सिर्जना हुने, महिला र पछाडि परेका समुदायको आर्थिक सशक्तीकरण गर्ने महत्वपूर्ण भूमिका खेल्ने छ ।

घरेलु तथा साना उद्योग विकास समितिका निमित्त कार्यालय प्रमुख हरिभगत श्रेष्ठले गाउँमा रहेका महिला तथा युवालाई उद्यमी बनाइने बताउनुभयो । गरीबीको रेखामुनि रहेका तथा सामाजिक रुपमा पिछडिएका वर्गलाई रोजगारी तथा स्वरोजगार प्रवद्र्धन गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

महिला आत्मनिर्भरको बाटोतर्फ उन्मुख

जुम्लाका महिला आत्मनिर्भरको बाटोतर्फ उन्मुख भएका छन् । चुलोचौकोमा सीमित रहेका जुम्लाका महिला सीपमूलक तथा आयआर्जनमूलक तालीम लिएर आत्मनिर्भरको बाटोमा अघि बढेका हुन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् कर्णाली प्राविधिक शिक्षालयले दुई महीने ऊनको हाते बुनाइ तालीम शुरु गरेको छ ।

सो तालीम जुम्लाको भारतीबाडामा शुरु गरिएको छ । स्थानीयस्तरमा पालिएका भेडाबाख्राबाट उत्पादित ऊनका झोला र पटुका बुन्ने तालीम लिएर महिला आत्मनिर्भरको बाटोमा अघि बढेको स्थानीय मागी बुढाले बताउनुभयो । दुई महीने बुनाई तालीम लिएर स्थानीयस्तरमा उत्पादित ऊनबाट आफूहरूले सीप सिकेर विभिन्न प्रकारका झोला तथा पटुका बुनेर व्यापार व्यवसाय शुरु गर्ने अर्का स्थानीय महिला सरिता कार्कीले बताउनुभयो । यही चैत ५ गतेबाट शुरु भएको उक्त तालीम आगामी जेठ १० गते सम्पन्न हुने सहभागी महिलाले बताएका छन् ।

दुई महीने तालीममा जुम्लाका विभिन्न गाउँपालिकाका २० महिलाको सहभागिता रहेको प्रशिक्षक सरस्वती भारतीले बताउनुभयो । मुगुका १० महिला सहभागी रहेका उहाँले जानकारी दिनुभयो । जुम्लाका महिलाको आर्यआर्जनमा टेवा पुग्ने प्रशिक्षक भारतीले बताउनुभयो । सीपमूलक तालीमका माध्यमबाट आत्मनिर्भर बनाउन र स्थानीयस्तरमा पालिएका भेडाबाख्राको ऊनलाई सदुपयोग गर्न पनि उनीहरूलाई तालीम दिइएको उहाँको भनाइ छ । तालीमले महिलालाई आत्मविश्वास बढाएकोे छ । महिलाले सिकेको ज्ञानसीप अरूलाई पनि सिकाउँदै जाने र सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने महिलाले बताएका छन ।रासस