परिणाम देखिने योजना बनाउन सुझाव

रुपन्देही, १९ चैत। लैङ्गिक हिंसा न्यूनीकरणका लागि परिणाम देखिने योजना बनाउन सरोकारवालाले राष्ट्रिय महिला आयोगलाई सुझाव दिएका छन् ।

आयोगले सोमबार बुटवलमा आयोजना गरेको लैङ्गिक हिंसा न्यूनीकरण तथा आत्मनिर्भरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीले स्थानीयस्तरमा आयोगको भूमिका बढाउन अनुरोध गरेका हुन् । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले महिला आत्मनिर्भर हुनसके हिंसाका घटनामा कमी आउने भएकाले उपमहानगरपालिकाले सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी बुटवललाई लैङ्गिकमैत्री शहर बनाउँदैछौँ, त्यसका लागि सूचकाङ्क तयार गरेका छौँ ।” आयोगका सचिव अनिलकुमार ठाकुरले स्थानीयस्तरका सुझावलाई समेटेर आयोगले आगामी नीति तथा योजना तय गर्ने बताउनुभयो ।

कानून कार्यान्वयन र अनुगमन गर्ने अधिकार भएकाले हिंसा न्यूनीकरणका लागि स्थानीय तहले महत्वपूर्ण भूमिका निभाउन सक्ने उहाँको भनाइ थियो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आयोगका उपसचिव लक्ष्मी पाण्डेयले नेपालमा ६७ प्रतिशत महिलामाथि घरेलु हिंसा हुने गरेको तथ्याङ्क सार्वजनिक गर्नुभयो । एक वर्षको अवधिमा महिलामाथि भएका हिंसाका घटनामध्ये ६७ प्रतिशत महिलामाथि घरेलु हिंसा भएको बताउनुभयो । त्यसैगरी १७ प्रतिशत सामाजिक हिंसा, छ प्रतिशत बलात्कृत, एक प्रतिशत महिलामाथि बलात्कारको प्रयास र चार प्रतिशत महिलामाथि यौनिक हिंसा भएको कार्यपत्रमा उल्लेख छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले लैङ्गिक हिंसा न्यूनीकरणका हिसाबले बुटवल अगाडि रहेको धारणा राख्दै हिंसा परिवतर्नको शुरुआत आफैँबाट गर्नुपर्ने बताउनुभयो । कार्यक्रमममा वडा प्रतिनिधि मायादेवी दर्नाल, पार्वती सुनार, खगीसरा गुरुङलगायतले हिंसा न्यूनीकरणका लागि कानूनको प्रभावकारी कार्वान्वयन जरुरी रहेको धारणा राख्नुभएको थियो ।

वारुणयन्त्र सञ्चालनमा

रुपन्देहीका तीन स्थानीय तहले संयुक्तरूपमा वारुणयन्त्र सञ्चालनमा ल्याएका छन् । रु ६३ लाख २४ हजारमा सिद्धार्थनगर नगरपालिका, मायादेवी र सियारी गाउँपालिकाले सोमबारदेखि वारुणयन्त्र सञ्चालनमा ल्याएका हुन् । यसअघि सिद्धार्थनगरमा वारुणयन्त्र बीसौँ वर्ष पुरानो भएकाले टाढा लैजान र आगलागी भएमा निभाउन समस्या भएको थियो ।

मायादेवी र सियारीमा यसअघि यन्त्र थिएन । गर्मी बढेसँगै आगलागीका घटना हुने भएकाले जनधनको क्षति हुनबाट जोगाउन वारुणयन्त्र सञ्चालनमा ल्याइएको सिद्धार्थनगर प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो । अशोक लिल्याण्ड कम्पनीको उक्त यन्त्र अत्याधुनिक प्रविधिको हो । वारुणयन्त्रमा तीन हजार ५०० लिटर पानी र ५०० लिटर फोम भर्न सकिने क्षमता छ । यस्तै यन्त्रमा छ मिटर अग्लो घुमेर उज्यालो दिनसक्ने हाइड्रोलिक लाइट जडित छ ।

पाइप नजोडिकनै १०० मिटर टाढासम्म पानीको ‘फोर्स’ फाल्न मिल्ने क्षमता रहेको यन्त्र अग्लाअग्ला घरमा समेत आगलागी हुँदा निभाउन अतिउपयुक्त हुने सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारूले बताउनुभयो । यन्त्रमा साना आकारका दुई र ठूला आकारका १५ पाइप एकैपटक जोडेर पानीको फोर्स दिन सकिने व्यवस्था छ । सिद्धार्थनगरको ६० तथा मायादेवी र सियारीको २०÷२० प्रतिशत लागतमा यन्त्र खरीद गरिएको हो ।रासस