२७ करदाताको सम्पत्ति रोक्काको तयारी

– नारायण अधिकारी

चितवन, १९ चैत। आन्तरिक राजश्व कार्यालय भरतपुरले लामो समयदेखि बक्यौता नतिरेका २७ फर्म सञ्चालकको सम्पत्ति रोक्का तथा लिलाम प्रक्रिया अघि बढाएको छ ।

कार्यालयका कर अधिकृत त्रिविक्रम तिमिल्सिनाका अनुसार ती करदाताको बैंकिङ तथा वित्तीय कारोवार रोक्का गरेकामा हालसम्म उक्त बक्यौता फरफारक नगरेको हुँदा अन्तिम तहको कारवाहीस्वरुप सम्पत्ति रोक्का तथा लिलाम प्रक्रिया शुरु गरिएको हो । उहाँका अनुसार ती करदाताको बक्यौता असुलीका लागि टेलिफोन, पत्राचार, स्थलगत भ्रमण, ताकेतापत्र, सार्वजनिक सूचना प्रकाशित गरी बैंक खाता रोक्का गरिसकिएको छ ।

बक्यौता नतिर्ने मूल्य अभिवृद्धि करतर्फका करदातामा जय सालासर ट्रेडिङ, सिडब्लु इ–ग्लोबल ज्वाइन्ट भेन्चर, पूर्ण स्टोर्स, त्रिशूल फुड्स प्रालि, आर के सप्लायर्स, एमएल क्षेत्र एण्ड सन्स कन्ट्रक्सन्स, भरतपुर ब्रदर्श कन्ट्रक्सन र श्रेष्ठ सप्लायर्स एण्ड सोलुसन्स प्रालि रहेका छन् । त्यसैगरी नवलपुर क्रसर उद्योग प्रालि, पावल निर्माण सेवा, फर्निचर एण्ड फर्निसिङ मार्क, नवरत्न कमर्सियल इन्टरप्राइजेज, डाइनामिक टावेल, स्वस्तिक नेपाल प्रालि र नेशनल ढुवानी सेवा रहेका छन् । यस्तै आयकरतर्फ नारायणी मैदा मिल्स, आरबी इन्टरप्राइजेज, बज्रगुरु विपी इसान जेबी, प्रकाश टे«डिङ सेन्टर, एयर केयर इन्टरप्राइजेज, श्रीशुभ मोर्टस, जलकन्या सप्लायर्स, युनाइटेड मोटर्स, श्रीजय भोले हार्डवेयर, मचान वाइल्ड लाइफ रिर्सोट, आरके सप्लायर्स र आस्था पेन्ट्स रहेका छन् । तिमिल्सिनाका अनुसार मूल्य अभिवृद्धि करतर्फका १५ करदाताको रु १२ करोड १२ लाख बक्यौता बाँकी छ ।

आयकरतर्फ १२ करदाताको रु तीन करोड ३३ लाख बक्यौता रहेको छ । कार्यालय प्रमुख शुभप्रसाद रिजालका अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भई रु एक लाखभन्दा माथि बक्यौता रहेका तीन सय करदाताको बक्यौता रु २१ करोड ७० लाख रहेको छ । आयकरतर्फ सबैको बक्यौता रु १५ करोड ३३ लाख रहेको उहाँले बताउनुभयो । विसं २०४० यताको बक्यौता थप हुँदै गएको हो । रिजालले कार्यालयले आफ्नो प्रक्रियाअन्तर्गत बक्यौता असुलीका लागि ताकेता गर्दा बेवास्ता गरेपछि अन्तिम कारवाहीस्वरुप सम्पत्ति रोक्का तथा लिलाम प्रक्रिया अघि बढाएको बताउनुभयो । कार्यालयले चितवन र नवलपुर जिल्ला हेर्दै आएको छ । कार्यालयका सूचना अधिकारी धनेश्वर अर्यालले बक्यौता असुलीमा कार्यालय तीव्रगतिमा लागेको बताउनुभयो । उहाँका अनुसार कार्यालयले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु १७ अर्ब ५६ करोड १४ लाख ९९ हजार राजश्व सङ्कलन गरेको छ । साउनयता फागुन मसान्तसम्ममा लक्ष्यको १०३ दशमलव ३७ प्रतिशत राजश्व सङ्कलन गरेको हो । चालू आर्थिक वर्षको मसान्तसम्मका लागि रु ३० अर्ब एक करोड ३६ लाख ५३ हजार लक्ष्य तोकिएको छ । कार्यालयमा आयकरतर्फ ५१ हजार ९८८ र मूल्य अभिवृद्धिकरमा आठ हजार ४३५ करदाता रहेका छन् । यस्तै अन्तःशुल्क करमा दर्ता भएका पाँच हजार ८० करदाता रहेका छन् ।

विद्यार्थीलाई खानेपानी

भरतपुर महानगरपालिका–२९ स्थित राष्ट्रिय आधारभूत विद्यालय तान्द्राङमा खानेपानी व्यवस्थापन गरिएको छ । जर्मन सहयोगी संस्थाको आर्थिक सहयोगमा नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन) ले खानेपानीको व्यवस्थापन गरेको हो । जिल्लामा सञ्चालित सीमान्तकृत समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन परियोजनामार्फत सो कार्य गरिएको हो । परियोजनाको तर्फबाट रु एक लाख ५८ हजार ३२८ र समुदायको श्रमदान रु ४४ हजार ८०० गरी रु दुई लाख तीन हजार १२८ मा आयोजना निर्माण सम्पन्न गरिएको परियोजना जिल्ला संयोजक सन्तोष भट्टराईले जानकारी दिनुभयो । प्रशोधन नगरिएको पानी पिउन बाध्य बालबालिका बालमैत्री धारा निर्माण गरिएपछि खुशी भएका छन् । विद्यालयमा छ धारा बनाइएको छ । यसअघि सोही विद्यालयमा शौचालय निर्माण गरिएको थियो तर पानीको व्यवस्था गर्न नसक्दा विद्यार्थी फोहरमै शौच गर्न बाध्य थिए । विद्यालयका प्राधानाध्यपक सीता भुजेलका अनुसार संस्थाले खानेपानीमा सहयोग गरेपछि शुद्ध पानीका साथै सरसफाइमा चेतना पुगेको छ । कक्षा ३ सम्म पढाइ हुने सो विद्यालयमा २६ बालबालिका अध्ययन गर्दछन् । यसबाट अन्य २२ घरधुरीसमेत लाभान्वित भएका छन् ।

जाऔँ है पोखरा अभियान

पश्चिमाञ्चल होटल सङ्घ पोखराको आयोजनामा ‘जाउँ है पोखरा अभियान २०७५’अन्तर्गत सोमबार यहाँ छलफल कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले काठमाडाँै, जनकपुरपछि यहाँ कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा जाऔँ है पोखरा अभियान २०७५ अन्तर्गत आन्तरिक पर्यटक भित्र्याउन देशव्यापीरूपमा प्रचार अभियान सञ्चालन गरिएको जानकारी दिइएको थियो । कार्यक्रममा पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले आन्तरिक पर्यटन प्रवद्र्धनका माध्यमबाट दिगो पर्यटन विकास सम्भव भएकाले अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । प्राकृतिक दृष्टिले पोखरा रमणीय रहेको भन्दै उहाँले यातायातको सहज पहुँच, खानेबस्ने उपयुक्त व्यवस्था, पर्यटकीय आकर्षण र सुविधा सबै पोखरामा उपलब्ध रहेको बताउनुभयो । पोखरेलीले ‘चलिए पोखरा’ नारासहित भारतीय र तेस्रो मुलुकको बजारमा समेत प्रवद्र्धन अभियान सञ्चालन गर्दै आएका छन् ।

पश्चिमाञ्चल होटल सङ्घले यही चैत्र २९ गतेदेखि वैशाख १ गतेसम्म फेवाताल किनारस्थित कोमागाने पार्कमा १६औँ फेवा नव वर्ष महोत्सव २०७६ समेत सञ्चालन गर्न लागेको सो अवसरमा जानकारी दिइएको थियो । आन्तरिक पर्यटन वर्ष २०१९ मनाइरहेको भन्दै तुलाचनले नेपाल भ्रमण वर्ष सफल पार्न यो अभियान सहयोगी हुने बताउनुभयो । सो अवसरमा नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेल, सङ्घका निवर्तमान अध्यक्ष भरतराज पराजुली, नेपाल पर्यटन वोर्ड पोखराका प्रमुख मणि लामिछाने, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडी, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान, क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेलगायतले जाऔँ है पोखरा अभियानलाई सबैले आ–आफ्नो ठाउँबाट सहयोग पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँहरुले चितवन र पोखराका बीचमा पर्यटन प्रवद्र्धनमा सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । देशको दोस्रो पर्यटकीय गन्तव्य पोखरा हो भने तेस्रो पर्यटकीय गन्तव्य चितवन हो ।रासस