चितवनका किसानलाई नहर अतिक्रमणको चिन्ता

– कृष्ण आचार्य

भरतपुर, १९ चैत। पश्चिम चितवनका किसानलाई सिँचाइ सुविधाका लागि निर्माण गरिएको नारायणी लिफ्टको नहर अतिक्रमण भएको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् ।

लिफ्ट सिँचाइ आयोजनाअन्तर्गत भरतपुरको आवास क्षेत्र हुँदै जाने नहर पुरेर बाटोलगायत संरचना बनाउने क्रम बढेका कारण उनीहरुले चिन्ता व्यक्त गरेका हुन् । भरतपुर क्षेत्रमा झन्डै १० किलोमिटर क्षेत्रमा नहर पुरेर कालोपत्रे सडक, पुल र टहरा निर्माण गरिएको छ । नहर पुरिने क्रम दिनप्रतिदिन बढ्दो छ । सिँचाइ कार्यालय आडैको नहर पुरिँदासमेत कसैले चासो देखाउन सकेका छैनन् । भरतपुर नगरपालिकाकामा बढेको जनसङ्ख्या तथा खेत मासेर घडेरी बनाउने क्रम बढेपछि नहरको उपयोग घट्दै गएको हो ।

भरतपुर–१५ फुलबारीका किसान तोयनाथ अधिकारीले शहरीकरण बढ्दै जाँदा टोलटोलमा नहर मासेर बाटो बनाउने काम गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । आम किसानलाई पानी नभई नहुने भन्दै उहाँले नहरको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो । “सरकारले खेतीयोग्य र बसोबासयोग्य जमीन तत्काल छुट्याउनुपर्छ”, अधिकारीले भन्नुभयो, “होइन भने हाम्रा सन्ततीले कङ्क्रिटको शहर मात्र देख्न पाउनेछन् ।” पश्चिम चितवनमा ठूलो क्षेत्रफलमा अझै पनि खेती भइरहेको भन्दै उहाँले नारायणी लिफ्टको जीर्ण संरचना मर्मत गर्न आग्रह गर्नुभयो ।

भरतपुर–५ तोरीखेतका किसान दयाराम पौडेलले जीर्ण नारायणी लिफ्ट सिँचाइलाई ‘अक्सिजन’ दिएर राखेको बताउनुभयो । नहर बन्द भए पश्चिम चितवनमा पानीको हाहाकार हुने उहाँको भनाइ छ । “नारायणी लिफ्ट महँगो प्रणाली भयो, किसानलाई चाहिँदा पानी पाउन सकेका छैनन्” उहाँले भन्नुभयो ।

नारायणीको पानी बिजुलीबाट चल्ने ठूला पम्पले तानेर सिँचाइ गर्न नहरबाट खेतखेतसम्म पु¥याइएको छ । नहरको ‘बी’ र ‘सी’ शाखा छन् । ‘सी’ शाखाको मुख्य नहरबाहेक सात अन्य प्रशाखा रहेको नारायणी लिफ्ट खगेरी व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख खेमबहादुर पाठकले जानकारी दिनुभयो  । ‘बी’ नहरबाट २४०० हेक्टर र ‘सी’ नहरबाट २३०० हेक्टर जमीनमा सिँचाइ हुन्छ । ‘सी’ नहरको सातमध्ये छ प्रशाखा पूरै पुरेर बाटोलगायत संरचना बनेको उहाँले बताउनुभयो । लिफ्टले नारायणीको पानी ७२ हजार क्यूसेक तल गए तान्दैन । त्यसलै बर्खामा मात्रै सञ्चालन हुने गरेको छ । नहर पुरिँदा सिँचाइ हुने कूल जमीनमध्ये एक हजार हेक्टर घटेको पाठकले बताउनुभयो । धान हुने खेतलाई घडेरी बनाएर बेच्ने प्रवृत्ति बढेसँगै नहर पनि पुर्ने र मिच्ने क्रम बढेको हो । उहाँले व्यक्ति मात्र नभई संस्थागतरूपमा नहरको अतिक्रमण हुन थालेको बताउनुभयो ।

विद्युत्बाट चल्ने पम्पले नदीबाट पानी तानेर नहर सञ्चालन भएको योजना नारायणी लिफ्ट सिँचाइका पुराना पम्पहरू जीर्ण भएका छन्  । तत्काल नफेर्ने हो भने कुन बेला बिग्रेर नहर ठप्प हुने हो भन्ने त्रासमा रहेको प्रमुख पाठकले बताउनुभयो । पम्प किन्ने बजेट सङ्घीय वा प्रदेश कुन सरकारले दिने हो भन्ने अन्योल पनि कायम छ । सिँचाइ हुने क्षेत्रफलका हिसाबले नारायणी र खगेरी प्रदेश सरकार मातहत परेका छन् । नहर सुधारका लागि दिने बजेट यस वर्ष प्रदेश सरकारको कार्यक्रममा छैन । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले प्रदेशको ‘प्रोजेक्ट बैंक’मार्फत राखेर आगामी आर्थिक वर्षमा नारायणी लिफ्टलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “पश्चिम क्षेत्र चितवनको अन्नको भण्डार हो, यसलाई वर्षभरि नै सिञ्चित गर्नुपर्छ, जसका लागि तत्कालीन र दीर्घकालीन योजना ल्याउन आवश्यक छ ।”

यो नहरले पश्चिम चितवनको चार हजार ७०० हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याएको छ । यो लिफ्ट प्रणालीले जिल्लाको अर्को महत्वपूर्ण नहर खगेरी सिँचाइका लागि पनि पानी उपलब्ध गराउँछ । खगेरी नहरबाट पनि पश्चिम चितवनकै तीन हजार ९०० हेक्टर जमीनमा सिँचाइ हुन्छ । यसलाई व्यवस्थापन गर्न सके पश्चिम चितवनको १४ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउन सकिन्छ । नारायणी लिफ्ट सिँचाइ आयोजना विसं २०४० देखि सञ्चालनमा आएको हो । “दुई नहरबाट सिँचाइ गरेर धान उत्पादन गर्दा किसानले वर्षेनी करोडौँ आम्दानी गरेका छन् । तर, रकम अभावमा पम्प फेर्न समस्या छ ।

नहरको सुधार भए पश्चिम चितवनका अन्य भूभागमा पनि सिँचाइ सुविधा पुग्नेछ । खगेरी सिँचाइ आयोजना उपभोक्ता समिति अध्यक्ष वेदबहादुर गुरुङ नारायणी लिफ्ट मर्मत भए समग्र पश्चिम चितवनलाई नै सिँचाइ पु¥याउन सकिने बताउनुहुन्छ । कृषि उत्पादनमा नेपालको महत्वपूर्ण हिस्साको रूपमा रहेको अन्नको भण्डार चितवनमा पानीको अभावले उत्पादनमा ह्रास आउनु चिन्ताको विषय भएको गुरुङको भनाइ थियो ।रासस