नार्कमा किसान सञ्जाल

ललितपुर, १९ चैत। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले छ महीना अघिदेखि ‘नार्क कृषि प्रविधि सञ्चार’ नामक सञ्जालको शुरुआत गरी कैयौँ किसानलाई कृषिका बारेमा जानकारी दिँदै आएको छ ।

नेपालमा भएको निर्वाहमुखी खेतीलाई व्यवसायमुखी र उद्यमी किसानमुखी बनाउन नार्कले आफ्नै सञ्जाल विकास गरेको हो । सञ्जालमा नेपालका थुप्रै किसानलाई समेटिएको छ । नार्कको प्रतीक चिह्न अङ्कित उक्त सञ्जालमा किसानले अनुरोध पठाएर साथी बन्न सक्ने नार्कका सञ्चार प्रकाशन तथा अभिलेख महाशाखा प्रमुख हरिकृष्ण उप्रेतीले जानकारी दिनुभयो । “समाजमा भित्रिएका नयाँ र समसामयिक प्रविधिका बारेमा सञ्जालमा जानकारी दिन्छौँ”, उप्रेतीले भन्नुभयो, “विभिन्न पत्रपत्रिका तथा अनलाइनमा प्रकाशित कृषिका सूचना र जानकारी यसमा हाली नार्क किसान सहयोगी बन्न सफल भएको छ ।” सञ्जालको प्रयोग गरी हरेक दिन किसानले कृषिका बारेमा नयाँनयाँ जानकारी हासिल गर्न थालिसकेको उप्रेतीले बताउनुभयो ।

नार्कले किसान र सरोकार पक्षबीच भएको जिज्ञासा मेटाउन सञ्जालको विकास गरेको हो । “यसको विकास तथा विस्तारले विदेशमा श्रम गर्न गएका मानिसलाई नेपालमा कृषि गर्न फर्काएको, विदेशमा पुरुषले कमाएर पठाएको पैसाबाट यहाँ महिलाले कृषिमा लगानी गरी झन् दोब्बर आम्दानी गरेको, विदेशमा दुःख गरेर फर्केका युवालाई नेपालमै कृषि गर्नुपर्छ भन्ने भावना जगाएको पाइन्छ”, उप्रेतीले थप्नुभयो । हाल नेपालका ६६ प्रतिशत मानिस कृषिमा आधारित भएको तथ्याङ्कमा उल्लेख छ ।

“नेपालको कृषिलाई व्यवस्थित बनाउन सरकारले थप यान्त्रिकीकरणमा जोड दिनुपर्छ”, कृषिविज्ञ उप्रेतीले भन्नुभयो । चकलाबन्दी नीतिअनुरुप सरकारी, सामुदायिक र करारखेती तीनैतर्फ सरकारले ध्यान दिएमा नेपालका कयौँ खेती सिञ्चित सुविधाका साथ समयअनुुरूपको अन्न उत्पादन गर्न सक्ने अवस्थामा पुग्ने बताइएको छ । रासस