छोराको स्मृतिमा विद्यालयलाई पाँच लाख सहयोग

गलकोट, १९ चैत। जिल्लाको बागलुङ नगरपालिका–६ लहरेपिपल माध्यमिक विद्यालयलाई यहाँका एक शिक्षाप्रेमीले छोराको स्मृतिमा रु पाँच लाख सहयोग प्रदान गर्नुभएको छ ।

पञ्चकोट भान्सका शिवप्रसाद सापकोटाले छोरा कृष्णप्रसाद सापकोटाको स्मृतिमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग गर्नुभएको विद्यालयले जनाएको छ । विद्यालयले आगामी शैक्षिक सत्रदेखि आवासीय सुविधासहितको गुणस्तरीय शिक्षा प्रदान गर्न सञ्चालन गरेको सहयोग अभियानमा छोराको स्मृतिमा सहयोग प्राप्त भएको विद्यालयका प्रधानध्यापक कृष्णप्रसाद सुवेदीले बताउनुभयो । रोजगारीका क्रममा गत वर्ष जापानमा कृष्णप्रसाद सापकोटाको सडक दुर्घटनामा परी निधन भएको थियो । छोराको शैक्षिक गुणस्तरप्रतिको सपनालाई साकार पार्न आफूले सहयोग गरेको पिता शिवप्रसाद सापकोटाले बताउनुभयो ।

विद्यालयले कक्षा ४ सम्म पूर्णरूपमा अङ्ग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको छ भने टाढाटाढाका विद्यार्थीलाई विद्यालयमा ल्याउन स्कूल बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । विद्यालयले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कम हुने भन्दै शहरका निजी शैक्षिक संस्थामा अध्यापन गराउँदै आएका अभिभावकलाई आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा फर्काउन आग्रह गरेको छ ।

“विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोका रूपमा परिचित गराउन सहयोग सङ्कलन अभियान सञ्चालन गरेका छौँ”, प्रधानध्यापक सुवेदीले भन्नुभयो, “जिल्लाकै नमूना विद्यालय बनाउन सबैको सहयोगको अपेक्षा छ ।” नमूना विद्यालय सञ्चालनका लागि विद्यालयले यही चैत्र १० गतेदेखि स्वेच्छिकरूपमा सहयोग सङ्कलन अभियान सञ्चालन गर्दै आएको छ । अभियानबाट हालसम्म शिक्षाप्रेमी, समाजसेवी तथा अविभावकबाट रु १५ लाख सहयोग सङ्कलन भइसकेको विद्यालयका शिक्षक महेश्वर आचार्यले जानकारी दिनुभयो । गरीब बालबालिकाले निःशुल्क गुणस्तरीय शिक्षा पाउने भएपछि अभिभावक घरदैलो सहयोग सङ्कलन अभियानमा उत्साहका साथ सहभागी बनेका छन् ।

विद्यार्थी नेता पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार साँझ नेत्रविक्रम चन्द नेतृत्व समूहका एक विद्यार्थी नेतालाई पक्राउ गरेको छ । समूहको विद्यार्थी सङ्गठन अखिल क्रन्तिकारी बागलुङका जिल्ला संयोजक बागलुङ नगरपालिका–४ कुँडुले बस्ने प्रवीण सापकोटालाई आज जिल्ला सदरमुकाम बागलुङ बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार सापकोटालाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । रासस