यसकारण आजदेखि बन्द गरियो गुगल प्लस

काठमाडौं, १९ चैत । संसारको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्ड गुगल प्लस मङ्गलवार बिहानदेखि बन्द गरिएको छ ।

सन् २०११ मा फेसबुक र ट्विटरलाई चुनौती दिन खोलिएको यो सर्च इञ्जिन गुगल आज मंगलबार बिहानदेखी बन्द गरिएको हो ।

गुगल प्लसलाई भिडियोका लागि चर्चित युट्युबमा जोड्ने प्रयास गरिए पनि प्रयोगकर्ताले यसलाई रुचाएनन् । सन् २०११ को अन्त्यतिरै यसका आलोचकहरूले यसको ‘मृत्यु’को घोषणा गरिसकेका थिए, तर गुगलले सन् २०१८ मा यसका तथ्याङ्क चोरी भएको सार्वजनिक भएपछि मात्रै यसलाई बन्द गर्ने निर्णय गरेको थियो ।

सन् २०११ मा आमन्त्रणबाट मात्रै खाता खोल्न सकिने गरि गुगल प्लस शुरू भएको थियो । वर्षको अन्त्यमा यो सबैका लागि खुला गरिएको थियो ।

सामाजिक सञ्जालमा जस्तो लेख्न र तस्बिरहरू सेअर गर्न मिल्ने सुविधा यसमा थियो । तर गुगलले यसलाई ‘सामाजिक तह’को रूपमा परिभाषित गरेको थियो, जुन यसका अन्य सबै उत्पादनहरूसँग जोडिएको थियो ।

साथीहरूलाई ‘सर्कल’को आधारमा समूह विभाजन गर्न मिल्ने र ‘ह्याङ्गआउट’ भनिने समूहगत भिडिओ कल गर्न मिल्ने यसका मुख्य सुविधाहरू थिए । सार्वजनिक गरिएको केही हप्तामै यसमा लाखौं प्रयोगकर्ताहरू जोडिएका थिए । तर तीमध्ये एकदमै कम प्रयोगकर्ताले मात्रै यसलाई प्रयोग गर्नु नै यसको समस्या बन्यो ।

“मैले खोल्थेँ र खालि पाना मात्रै देख्थेँ,” पाउल टस्सीले फोर्ब्समा एक हप्तापछि नै लेखेका थिए। “यो ठूलो र खाली उजाड स्थान थियो, जहाँ धेरै मानिसहरूले पाइला टेके तर के रहेछ भनेर बुझ्ने प्रयास गरेनन्।” “गुगल प्लस पहिलो दिनदेखि नै असफल हुने खालको थियो,” सामाजिक सञ्जाल सल्लाहकार म्याट नाभारा भने ।