प्रदेश सरकारको पहलमा विमान चार्टर गरेर ४० बर्षीय गर्भवती महिलाको उद्धार

बाजुरा, १९ चैत्र । जिल्लाको बूढीनन्दा नगरपालिका–३ बस्ने आठ महिनाकी गर्भवती सेतु ल्वारको विमाल चार्टर गरेर उद्धार गरिएको छ ।

सेतुको जिल्लामा उपचार सम्भव नभएपछि सीता एयरलाइन्सको विमान चार्टर गरेर कोहलपुर मेडिकल कलेज पठाइएको हो ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको पहलमा विमानको प्रबन्ध मिलाएर उद्धार गरिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए ।

विशेषज्ञहरुसँगको परामर्शपछि सामाजिक विकासमन्त्री कृष्णप्रसाद सुवेदीले विमान चार्टर गरेर उद्धार गर्न अनुरोध गरेका हुन् ।

ल्वारको उच्च रक्तचाप, फोक्सोमा पानी जमेको र गर्भवती अवस्थामा हुने जटिल अवस्था देखिएको स्वास्थ्यकर्मीको भनाइ थियो ।

चार वटा छोरी जन्माइसक्नुभएकी ४० वर्षीया ल्वार पाँचौँ सन्तानका लागि गर्भवती थिईन् ।

कमजोर आर्थिक अवस्थाकै कारण समयमै उपचार गर्न नसकेको सेतुका श्रीमान् तुले ल्वारले बताए। कोल्टीमा यतिबेला विशेषज्ञ शिविर चलिरहेको छ ।