सभामुख कृष्णबहादुर महराद्वारा रेशम चौधरीलाइ थारू भाषामा सपथ

प्रतिनिधिसभा सांसद्को रुपमा राजपा नेता रेशमलाल चौधरीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनले आफ्नो मातृभाषा थारूभाषामा सपथ ग्रहण गरेका छन् । उनलाई सभामुख कृष्णबहादुर महराले आफ्नो सचिवालय सिंहदरबारमा सपथ ग्रहण गराए ।

सपथ ग्रहण लगत्तै संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले सांसद्को लोगो दिएका छन् । टीकापुर घटनाका मूख्य अभियुक्तको रुपमा प्रहरीले किटान गरेपछि चौधरी पूर्पक्षका लागि थुनामा थिए । उनलाई सपथका लागि डिल्लीबजार कारागारबाट प्रहरीले भ्यानमा राखेर सिंहरदबार लगेको थियो ।

चौधरी कैलाली १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । सभामुख महराले प्रधानमन्त्री केपी ओलीको आग्रहमा उनलाई सपथ ग्रहण गराएको बताएका छन् । केही दिन अघि प्रधानमन्त्री ओली र राजपा नेताबीच भएको वार्तापछि उनलाई सपथ ग्रहण गराइएको हो ।

थारूवान-थरुहट संघर्ष समितिले संविधानप्रति असहमति जनाउँदै गरेको टीकापुर आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मीको मृत्यु भएको थियो । तीन जना आन्दोलनकारीको पनि मृत्यु भएको थियो । प्रहरीसँगको झडपका क्रममा दर्जनौँ घाइते भएका थिए । आन्दोलनका क्रममा २ वर्षे बालक टेकेन्द्र साउदको पनि मत्यु भएको थियो । संविधानको विरोधमा दसौँ हजार थारू समुदायले आन्दोलन गरेका थिए । टीकापुर घटना विशुद्ध राजनीतिक भएको र राजनीतिकरुपमा नै हल खोज्नुपर्ने भन्दै चौधरी प्रक्राउ प्रति यस अघि राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले प्रतिनिधिसभाको बैठकमा आक्रोश पोखेका थिए । नयाँ पत्रिका बाट