राष्ट्रपति र प्रधानमन्त्रीको तस्बीर अमर्यादित तस्बीर राखेर सामाजिक सञ्जालमा पोष्ट गर्ने दुई जना पक्राउ

काठमाडौँ, १८ चैत । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बीर अमर्यादित र अशोभनीय ढङ्गले राखेर सामाजिक सञ्जालमा पोष्ट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले सामाजिक सञ्जालमा राष्ट्रपति तथा प्रधानमन्त्रीको तस्बीर अमर्यादित तथा अशोभनीय तरिकाले पोष्ट गर्ने पाल्पाका २२ वर्षीय निर्मल गैरे र रुपन्देहीका २३ वर्षीय यमप्रसाद पन्थीलाई पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले विद्युतीय कारोवार ऐन विपरीत कार्य गरेकाले गैरेलाई भक्तपुर र पन्थीलाई चितवनबाट चैत १३ गते पक्राउ गरी आज सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

सुनसहित चिनियाँ पक्राउ

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले चीनको स्ट्रङ्गको उडानबाट कुनमिङबाट काठमाडौँ आउँदै गरेका चिनियाँ नागरिक वाङ किजिकाङलाई शनिबार साँझ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले अवैध रुपमा सुनको लकेट बोकेर आएको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पक्राउ परेका किजिकाङसँग प्रहरीले १३९ ग्राम सुन बरामद गरेको छ ।

एटिएम फुटाउने पक्राउ

महानगरीय प्रहरी वृत्त कमलपोखरीले इन्भेष्टमेन्ट बैंकको एटिएम फुटाउन खोज्ने दुई जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–९ ल्होत्से चोकस्थित इन्भेष्टमेन्ट बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा उदयपुरका अशोक पुरी र काभ्रेपलाञ्चोकका सोनाम गुरुङलाई आज दिउँसो पक्राउ गरेको हो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस