टीकापुर घटनाका मुख्य आरोपी रेशम लाल चौधरीले शपथ लिए

काठमाडौं । २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य योजनाकारको आरोपमा  पुर्पक्षका लागि थुनामा रहेका रेशमलाल चौधरीले सिंहदरबार पुगेर सांसद पदको शपथ लिएका छन्। चौधरीले थारु भाषामा पद तथा गोपनीयताको सपथ लिएका हुन्।

सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । डिल्लीबजार कारागारबाट प्रहरीले उनलाई सिंहदरबार ल्याएको थियो । राष्ट्रिय जनता पार्टीले चौधरीलाई सपथ दिलाउनेलगायतका आफ्ना मागहरु पुरा नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी दिएपछि सरकारले उनको सपथको व्यवस्था मिलाएको हो।

कृषि समितिको हलमा भएको सपथ ग्रहण कार्यक्रममा राजपाका नेताहरुका साथै सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ समेत उपस्थित थिए ।

टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा उनीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा विचाराधीन छ । फरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली १ बाट निर्वाचित भएका थिए । शपथपछि पुनः उनलाई डिल्लीबजार कारागार लगिने छ।