राहत र उद्धारमा बारा र पर्सा पुगे तीन वटै सुरक्षा निकायका १२ सय सुरक्षाकर्मी

काठमाडौं, १८ चैत्र । देशलाई आपत बिपत आइपर्दा दिलदेखि नै सहयोग गर्ने देशका तीनवटै सुरक्षा निकाय बारा र पर्सामा पनि पुगेका छन् ।

आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीबाट ठूलो जनधनको क्षति भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १२ सय सुरक्षाकर्मी प्रभावित क्षेत्रमा उद्धार र तथा राहतमा खटिएका हुन् ।

आइतबार बेलुकाको हावाहुरीमा ज्यान गुमाएका २७ जनाको शव भेटिएको छ । ती मध्ये २३ जनाको सनाखत भएको छ । ४०० भन्दा बढी घाइते भएका छन् । गम्भीर घाइते ६ जनालाई काठमाडौं रेफर गरिएको छ ।

सेनाका प्रवक्ता सहायक रथी यमप्रसाद ढकालका अनुसार सेनाको एउटा हेलिकप्टरले घाइतेको उद्धार गरिरहेको छ भने प्रभावित क्षेत्रमा तीन सयजना सेना खटिएका छन् । सेनाले उद्धारसँगै राहतमा समेत जोड दिएको छ ।