विदेशमा समस्या परे अब सिधै सिंहदरवारमा फोन गर्न सकिने

काठमाडौं, १८ चैत्र । सरकारले बैदेशिक रोजगारमा रहेकाहरु वा आन्तरीक श्रम बजारका गुनासा सुन्न सुरु गरेको कल सेण्टरको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमवार उद्घाटन गरेका छन् ।

कल सेण्टरको उद्घाटन गर्दै मन्त्री विष्टले विश्वको जुनसुकै ठाउँमा रहेको नेपाली पनि समस्यामा परेमा सो सेण्टरमा जानकारी गराउन सक्ने र सरकारले मद्धत गर्ने बताए ।

बैदेशिक रोजगार बोर्डद्धारा श्रम मन्त्रालयमा स्थापित सो कल सेण्टर आज सोमवारदेखि सेवा दिन थालेको हो । सेन्टर विहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुने छ ।

उनले बैदेशिक रोजगारमा रहेकाहरुसँगै आन्तरीक श्रम बजारका समस्या तथा सुझावहरु पनि कल सेण्टरमा फोन गरेर जानकारी दिन सकिने बताए ।

यसका लागि ११४१ वा १६६००१५०००५ मा फोन गर्न सकिनेछ । बैदेशिक रोजगारका क्रममा रहेकाहरुले विदेशबाट भाइवर, ईमो, म्यासेन्जर, फेसबुक, ईमेल लगायतका माध्यमबाट पनि गुनासो टिपाउन सक्नेछन् । +९७७१५९७००८ मा फोन गरेमा भनें शुल्क लाग्नेछ ।