प्रधानमन्त्रीले प्रभावित क्षेत्रमा गरे हवाई निरीक्षण, स्थानीय असन्तुष्ट, प्रदेशमन्त्री भन्छन् – हेलिकोप्टरमा उडेरमात्र हुँदैन प्रधानमन्त्री ज्यु, राति सुत्नलाई पाल खसाइदिनोस्

बारा, १८ चैत । हावाहुरी प्रभावित फेटा गाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीले हवाइ निरीक्षण मात्र गरेपछि स्थानीयबासीले असन्तुष्टि जनाएका छन् ।

आइतबार राति वर्षासँगै आएको हावाहुरीले सबैभन्दा धेरै धनजनको क्षति भएको बाराको फेटागाउँमा प्रधानमन्त्री ओलीले हवाइ निरीक्षण मात्र गरेकाले स्थानीयबासीले असन्तुष्टि जनाएका हुन् ।

सबैभन्दा धेरै धनजनको क्षति भएको फेटामा प्रधानमन्त्री ओलीसहितको टोली जाने भनिएको थियो । तर, गृहजिल्ला झापाबाट नेपाली सेनाको हेलिकोप्टरमा बारा पुगेका प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रको हवाइ निरीक्षण गरेका छन् ।

प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास जितेन्द्र सोनललगायतका मन्त्रीहरु भने विहानैदेखि फेटामा छन् ।

मन्त्री सोनलले हेलिकोप्टर चढेर राहत नहुने भन्दै पाल, ब्लांकेटलगायत आवश्यक सामग्री पठाउन माग गरेका छन् । ‘हेलिकोप्टरमा उडेर राहत हुँदैन’ उनले भने, ‘ यहाँ मान्छेलाई पाल छैन, स्रोत साधन छैन । पाल खसालिदिनु पर्‍यो नि मान्छेलाई ।’

उनले अघि भने, हामी यहाँ जिरो ग्राउण्डमा छौं । उहाँहरुलाई मैले देखेको पनि छैन । केन्द्रीय सरकारसँग आग्रह छ, प्रधानमन्त्रीजीसँग आग्रह छ, कृपया पाल पठाउनु पहिले । राति सुत्नलाई पाल छैन । कमसेकम ५ हजार परिवारलाई पाल चाहिन्छ ।’

हावाहुरी प्रभावितलाई खानेकुराको व्यवस्था स्थानीय सरकारसँग मिलेर प्रदेश सरकारले गर्ने भन्दै उनले राति सुत्नलाई पाल पठाउन केन्द्र सरकारलाई आग्रह गरेको अनलाइन खबरमा समाचार छ ।