विद्युतगृह पुनःसञ्चालनमा

बलेवा, १८ चैत। गत साउनमा पहिराले खोला थुनिँदा क्षतिग्रस्त बागलुङको वडिगाड गाउँपालिका–६ मा रहेको भिङगाड प्रथम जलविद्युत् आयोजना पुःन सञ्चालनमा आएको छ । क्षति भएका संरचनाको मर्मत गरी आयोजना सात महिनापछि सञ्चालनमा आएको हो ।

पहिराले खोला थुनिँदा विद्युत्गृह पुरिएको थियो । विद्युत् उत्पादन यन्त्रदेखि कैयौँ संरचनामा क्षति पुगेका कारण मर्मतमा समय लागेको आयोजनाले जनाएको छ । बयालीस किलोवाट क्षमताको भिङगाड प्रथम जलविद्युत्को विद्युत्गृह मर्मतपछि अहिले क्षमता वृद्धि गरेर विद्युत उत्पादन भइरहेको आयोजनाका सचिव जीतबहादुर थापाले बताउनुभयो । गत साउन २९ गते जलविद्युत् आयोजनाको ठीकमुनि पहिराले खोला थुन्दा बनेको तालमा पुरिँदा बिग्रिएका यन्त्र विस्थापन गरेर विद्युत् सेवा सञ्चालन गरिएको हो । सचिव थापाका अनुसार पहिराले थुनिएको खोला खुल्दा विद्युत्गृह पूरै बगाएको थियो । रासस