प्रधानमन्त्री केपी शर्मा ओलीले आंधीहुरीबाट प्रभावित क्षेत्र बारा र पर्साको हेलिकप्टरबाट निरीक्षण (फोटो सहित)

बारा १८ चैत । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आंधीहुरीबाट प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गरेका छन्। यनले बाराको अतिप्रभावित पुरैनियामा हेलिकप्टरबाट निरीक्षण गरेका हुन्।

उनी झापाबाट सिमरा र सिमराबाट वीरगञ्ज लागेका छन्। आइतबार बेलुका आएको हावाहुरीमा बारा र पर्सामा गरी २७ जनाको मृत्यु भएको छ। २३ जनाको सनाखत भएको छ।

राहत तथा उद्धारमा समस्या हुन नदिन निर्देशन

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुग्नुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै जानुभएको हो ।

निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिनुभएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे पनि जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओलीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाका बारेमा जानकारी दिनुभएको थियो ।

गए राति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीसम्बद्ध सांसदको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ । नेकपा संसदीय दलका नेतासमेत रहनुभएका ओलीले राहत र उद्धारमा खटिन पार्टीका नेता कार्यकर्तासँगसमेत आग्रह गर्नुभएको छ ।

घाइतेको उपचार प्रबन्ध गर्न राष्ट्रपतिद्वारा ध्यानाकर्षण

काठमाडौँ, १८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ बारा र पर्सालगायत जिल्लामा भीषण हावाहुरीका कारण ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दैैै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज वक्तव्यमार्फत सो प्राकृतिक विपत्तिमा परी ठूलो सङ्ख्यामा जनसमुदाय घाइते भएकामा सहानुभूति प्रकट गर्दै घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

हावाहुरी, बाढीपहिरो, डढेलो, आगलागीजस्ता प्राकृतिक प्रकोपबाट जोगिन र जोगाउन सम्बद्ध सबै पक्षलाई समयमा नै पूर्वसावधानी अपनाउनसमेत राष्ट्रपतिले ध्यानाकर्षण गराउनुभएको छ । उहाँले भौतिक पूर्वाधार विकास गर्दा जोखिम न्यूनीकरणका सबल उपाय अवलम्बन गर्न सरोकार भएका सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपतिले मुलुकका विभिन्न भागमा भएका सडक दुर्घटनामा परी जीवन गुमाउनेका परिवारप्रति पनि समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

एकार्कालाई सहयोग गर्न उपराष्ट्रपतिबाट आग्रह

उपराष्ट्रपति नन्दबहादुर पुनले हावाहुरी र असिनापानीले राष्ट्रलाई नै शोकमा पार्ने गरी मध्य तराईका बारा, पर्सा लगायत जिल्लामा भएको ठूलो मानवीय र भौतिक क्षतिले मर्माहत र दुःखित बनाएको बताउनुभएको छ ।

उहाँले अकल्पनीय प्रकारको प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनुभएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपतिले प्राकृतिक प्रकोपमा परी घाइते हुनुभएकाको शीघ्र पूर्ण स्वाथ्यलाभको कामना गर्दै प्रभावकारी उपचारका लागि सरकार र सबै पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

घाइतेको उद्धार र उपचार तथा पीडितका लागि राहत, पुनस्र्थापना र घर पुनःनिर्माणमा सरकारले विशेष ध्यान दिनेमा विश्वस्त रहेको बताउँदै उपराष्ट्रपतिले सुरक्षित आवास र भौतिक पूर्वाधार नहुँदा धेरै जनधनको क्षति भएको देखिएकाले त्यसलाई विशेष ध्यानमा राख्न सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई अनुरोधसमेत गर्नुभएको छ ।

एकलाई दुःख पर्दा अर्कोले सहयोग गर्ने हामी नेपालीको संस्कार भएको स्पष्ट पार्दै उहाँले हावाहुरीबाट पीडितलाई स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइले सकेको सहयोग गर्ने अपेक्षा गर्नुभएको छ । अकल्पनीय प्राकृतिक प्रकोप पीडितको पीडामा आफू सधैँ साथमा नै रहेको बताउँदै उहाँले विपद्का समयमा खुला हृदयका साथ सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ ।

घाइतेको उपचारमा सरकारद्धारा उच्च प्राथमिता

–विष्णु नेपाल

काठमाडौँ, १८ चैत । आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र घाइतेको उपचार गर्न सरकारले उच्च प्राथमिता दिएको छ ।

विशेष गरी ती दुई जिल्लामा हावाहुरीले पु¥याएको क्षतिका बारेमा स्थलगत रुपमा जानकारी लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा सुुरेन्द्र यादव, सचिव चन्द्रकुमार घिमिरे, विभागका महानिर्देशक डा गुणराज लोहन पुगिसक्नुभएको छ ।

मन्त्रालयले सहसचिवद्वय चिकित्सक रमेश खरेल र चिकित्सा महाशाखाका प्रमुख दीपेन्द्ररमण सिंहको नेतृत्वमा विशेषज्ञ चिकित्सक टोली परिचालन समेत गरेको छ । साथै उहाँहरुले ती जिल्लामा घाइतेको उपचार तथा अन्य कार्यको समन्वय समेत गर्नुहुनेछ । हालसम्म हावाहुरीका कारण २७ जनाको मृत्यु र ४०३ घाइते हुनपुगेका थिए ।

हाल घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज, कलैया अस्पताल, तराई अस्पताल, एड्भान्स अस्पताल, गण्डकी अस्पताल र वीरगञ्ज हेल्थ केयर युनिटमा ४०३ जना घाइतेको उपचार भइराखेको मन्त्रालयले जनाएको छ ।

ती घाइतेमध्ये ११ जनालाई यहाँस्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा थप उपचार गर्न ल्याइएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्रालयबाट परिचालन भएका चिकित्सक टोली पुगिसक्नुभएको तथा स्थानीय स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीबाट स्वास्थ्यपरीक्षण, औषधि वितरणको कार्य जारी रहेको छ । “पथलैयास्थित क्षेत्रीय औषधि भण्डारबाट ती जिल्लामा थप औषधि पुगिसकेको छ, औषधिको अभाव छैन, खानेपानी, पोषण, खाद्यान्न, सरसफाइलगायत सातवटा क्षेत्रमा अभाव रहेको छैन”, उहाँले भन्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवको अध्यतामा आज बसेको स्वास्थ्य आपतकालीन तथा विपत् व्यवस्थापन एकाइले हावाहुरी प्रभावित क्षेत्रमा घाइतेको उद्धार, उपचार तथा अन्य सहयोगका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकले घाइतेको उद्धार, उपचार तथा अन्य मानवीय सहयोगका लागि जनकपुर, हटौँडा र चितवनबाट थप चिकित्सकसहित स्वास्थ्यकर्मी ती क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको थियो । ती जनशक्ति प्रभावित क्षेत्रमा पुगिसकेको मन्त्रालयले जनाएको छ । “थप जनशक्ति आवश्यक परेमा काठमाडौँमा तयारी अवस्थामा रहेका छन्”, प्रवक्ता श्रेष्ठले भन्नुभयो । घाइतेको उपचार गर्न रगत अभाव नरहेको नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले जानकारी दिनुभयो ।

“स्थानीय रुपमा हावाहुरीबाट प्रभावितको उद्धार, राहत वितरण कार्यमा कार्यमा स्वयंसेवक परिचालन गरिरहेका छौँ, राहतका सामग्री वितरणकार्य जारी रहेको छ, रगतको अभाव रहेको छैन, थप रगतको आवश्यकता परेका नजिकका जिल्ला र काठमाडौँमा तयारी अवस्थामा राखेका छौ”, उहाँले भन्नुभयो ।

हाल सोसाइटीले हावाहुरीले क्षति पु¥याएका पीडितलाई आवश्यकताका आधारमा तारपोलिन (त्रिपाल), टेण्ट वितरणकार्य शुरु गरेको जनाएको छ । उपचारका लागि काठमाडौँ ल्याइने घाइतेको मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका लागि पाँचवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । साथै प्रभावित क्षेत्रका सबै एम्बुलेन्सलाई परिचालन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

हावाहुरीले विशेषगरी वीरगञ्जदेखि पथलैया करिडोर क्षेत्रमा वढी प्रभावित पारेको थियो । प्रभावित क्षेत्रमा नेपाली सेनाले २८ नं बाहिनीबाट स्वास्थ्यकर्मी परिचालन गरेको छ । आवश्यक हाडजोर्नी, शल्यचिकित्सक, जनरल उपचारसहितका तीनवटा समूह परिचालन गरिएको सहायक रथी अरुणकुमार न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आवश्यकताका आधारमा हामी थप स्वास्थ्यकर्मी परिचालन गछौँ ।”

अपडेट : मिति २०७५।१२।१७ गते हावाहुरीबाट भएको क्षतिको विवरण :