स्तनपान कक्ष सञ्चालन

– लक्ष्मीप्रसाद सापकोटा

पर्वत, १८ चैत । जिल्ला प्रशासन कार्यालयले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ । पछिल्लो समय लैङ्गिक विषयका मुद्दा महत्वका साथ उठिरहेका बेला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा प्रवाहलाई महिलामैत्री बनाउन यस्तो व्यवस्था गरिएको हो ।

पछिल्लो समय कार्यालयमा सेवा लिन आउने महिलाको सङ्ख्या बढ्दै गएको र कार्यालयभित्र काम हुँदाहुँदै केही समय कुर्नुपर्ने अवस्थामा सहज रुपमा आफ्ना बालबालिकाको हेरचाह गर्न सकुन भनेर स्तनपान कक्ष सञ्चालनमा ल्याइएको प्रजिअ ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“कार्यालयमा काम लिएर आउने कतिपय महिलासँगै स्तनपान गर्ने बच्चासमेत आउँछन्, सार्वजनिक स्थानमा लाजका कारण उनीहरुले दूध नखुवाउने गरेका छन्, बच्चा समस्यामा पर्ने, रुने कराउने हुन्छ, त्यसैले स्तनपान कक्ष बनाएका हौ ।”

गण्डकी प्रदेश सरकारअन्तर्गतको शहरी विकास तथा भवन डिभिजन कार्यालयको झण्डै रु नौ लाखको लागतमा भवन निर्माण गरी स्तनपान कक्ष बनाइएको हो । कार्यालयले ज्येष्ठ नागरिक, फरक क्षमता भएकाका लागि समेत विशेष व्यवस्था गरेको छ । जसले गर्दा उनीहरुको काम छिट्टै सम्पन्न हुनथालेको छ । प्रशासनको काम सहज गराउन कार्यालयले श्रव्यदृश्य नागरिक वडापत्र समेत राख्ने तयारी गरेको छ । केही समयअघि जिल्ला प्रशासन कार्यालयमै स्वास्थ्यपरीक्षण सुविधा समेत शुरुवात गरिएको छ ।

बाढीपीडितका नयाँ घर जोखिममा

पहिरोले बस्तीको नाम निसाना नै मेटिनेगरी पुरिएको जमीनमा पुनः धमाधम नयाँ घर ठडिँदैछन् । गाउँको बीचमा बमबहादुर परियारको घर पनि बन्दैछ । पहिरो गएपछि उहाँको घरको भग्नावशेष पनि देखिएको थिएन । त्यही पहिरो पन्छाएर अहिले लस्तीको बरेनेटामा १९ घर निर्माण हुँदैछन् ।
गत साउनमा १६ वर्षीय छोरा गुमाएका जलजला–८ बरेनेटाका परियार अवको एक महीनाभित्रै नयाँ घरमा सर्दै हुनुहुन्छ । नयाँ घरमा बस्न पाउँदा खुशी हुनुपर्ने हो तर उहाँलाई मनमा शान्ति छैन । अझै पनि छोराको सम्झनाले राति निद्रामा बर्बराउँनुहुन्छ । नयाँ घर बन्दैगर्दा अधिकांशले पहिरोको घटना बिर्सेका छैनन् । गत साउन १ को राति बस्तीमाथिबाट धमाधम पहिरो खसेर सोत्तर बनेको गाउँ अहिले झट्ट हेर्दा भरिभराउ हुँदै गरेको भए पनि गाउँवासी ढुक्क छैनन् ।

गाउँपालिकाले विभिन्न दाता खोजेर यहाँका पीडितलाई नयाँ घर बनाउन शुरु गरेको हो । नयाँ घरनिर्माणका लागि अन्तर्राष्ट्रिय पर्वत समाज र असल छिमेकी नामक संस्थाले सहयोग गरेको छ । प्रतिपरिवार रु तीन लाखका दरले सहयोग रकम आएकोमा बाँकी स्थानीयवासीले श्रमदान गरेका छन् ।

त्यसबाहेक पर्वत र पोखराका लायन्स क्लबले समेत आर्थिक सहयोग गरेका थिए । एउटा घरनिर्माण गर्दा कम्तीमा रु सात लाख खर्च हुने अनुमान छ । दुई महीनाअघि निर्माण शुरु गरेका घर चाँडै निर्माण भइसक्ने छन् । वर्षाअगावै सर्ने सुरसार गरेका पीडित नयाँ घरमा सर्न पाउने खुशीसँगै आगामी वर्षामा पहिरो दोहोरिने चिन्तामा छन् ।

“एकै राति १३ वटा पहिरो खसेका थिए”, अम्मर परियारले भन्नुभयो, “अहिले पनि यहाँ पहिरो नखस्ला भन्न सकिन्न, रोकथाम केही भएको छैन, अब पहिरो खसे हामी कता जाने ?” सांसददेखि राष्ट्रियसभाका अध्यक्षसम्म पहिरो हेर्न पुग्नुभएको स्थानीय गणेश नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “आउनेजति सबैलाई बिलौना गरियो, हाम्रा लागि कसैले नयाँ ठाउँ देखाइदिएनन्, जोखिम मोलेरै नयाँ घरको जग हालियो ।” अहिले अधिकांश घर निर्माण सम्पन्न हुने चरणमा छन् । -रासस